• ३ चैत २०८२, मङ्गलबार

हावाहुरीले खोटाङमा रेडियोको रिपिटर टावर भाँचियो, प्रशासरण बन्द

blog

हावाहुरीले भाँचिएको सामुदायिक रेडियो हलेसी एफएमको टावर ।

राजकुमार भट्टराई

खोटाङ, चैत ३ गते । हावाहुरीले खोटाङको सामुदायिक रेडियो हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिदा प्रसारण बन्द भएको छ । चैत २ गते साँझ चलेको हावाहुरीले रेडियोको टावर भाँचिएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । टावर भाँचिएपछि रेडियोको प्रशारण बन्द भएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताउनुभयो । 

टावरको बीच भागमा भाँचिएर भुइमा थुप्रिएको छ । टावर भाँचिएपछि एन्टेनामासमेत क्षति पुगेको छ । कामै नलाग्ने गरी एन्टेनामा क्षति भएको अध्यक्ष राईको भनाइ छ । यस्तै एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।

हावाहुरीले खोटाङका ५० बढी घर र विभिन्न विद्यालयको छाना उडाएको छ । हावाहुरीले गरेको क्षतिको पुरा विवरण संकलन भइरहेको छ । करिब एक करोड बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।