सिराज खान
नेपालगन्ज, चैत ३ गते । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इस्तियाक राईले मालपोत कार्यालय बाँकेमा सेवाग्राही सहायता कक्ष सञ्चालन गरी चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट बाँके–२ मा उम्मेदवार रहनुभएका पूर्वमन्त्री राईले आफूले चुनाव जितेमा १५ दिनभित्र मालपोत कार्यालयमा 'हेल्प डेस्क' राखेर निःशुल्क जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गराउने प्रतिबद्धता गर्नुभएको थियो ।
निर्वाचित भएलगत्तै उहाँले लुम्बिनी प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरी मालपोत कार्यालयको सहयोगमा मङ्गलवार एक कार्यक्रमका बिच सेवाग्राही सहायता कक्षको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित सांसद राईले जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालयमा भएको आगजनीबाट सम्पूर्ण कागजपत्र जलेकाले स्रेस्ता कायम गर्न जनताले तीन हजारसम्म तिर्नुपरेको गुनासो आएपछि निःशुल्क काम गराउन यो सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । उहाँले अहिले सहायता कक्षमा जनशक्ति कम रहेकाले सकेसम्म लेखापढी कर्मचारीलाई पैसा दिन नसक्ने गरिब, असहाय तथा विपन्नलाई सेवा लिन आग्रह गर्नुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेशकुमार अग्रवालले जनतालाई निःशुल्क सेवा दिनका लागि यो कार्य सराहनीय रहेको जनाउँदै प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्रेस्ता कायम गर्न जनताले पैसा खर्च गर्नुपरेको सुनेर गरिएको यो काम अति नै राम्रो रहेको र यसमा उपमहानगरको पनि सहयोग रहेको उल्लेख गर्नुभयो ।
जेन–जी आन्दोलनका बेला लालपुर्जा लगायतका कागजपत्र जलेपछि अहिले त्यो बनाउन मालपोत कार्यालयमा सर्वसाधारणको अत्यधिक भिड लाग्ने गरेको छ । जग्गाधनी लालपुर्जाको स्रेस्ता कायम गर्न लेखापढी व्यवसायीले दुईदेखि तीन हजार रुपियाँसम्म शुल्क लिने गरेकोमा अब निःशुल्क हेल्प डेस्कबाट सेवा लिन सकिने मालपोत कार्यालय बाँकेका प्रमुख सविनसिंह चौधरीले बताउनुभयो ।
कार्यक्रममा मधेसी आयोगका सदस्य विजय गुप्ता, वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।