• ३ चैत २०८२, मङ्गलबार

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २ गते । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ।

हुरीबतासका कारण ललितपुरको भैँसेपाटीमा रुख ढलेर अवरुद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । आजै हुरीले सातदोबाटोस्थित सेल्सबेरीको बोर्ड नै ढालेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा मानवीय क्षति भने भएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा आज काठमाडौँमा ९.२, ललितपुरमा सात र भक्तपुरमा ३.४ मिलीमिटर वर्षा भएको छ । 

यस्तै आज सबैभन्दा बढी वर्षा धनकुटामा ३६.२ मिलीमिटर वर्षा भएको छ । पाल्पामा २४.८ र गुल्मीमा ९.२, तनहुँमा १० मिलीमिटर वर्षा भएको छ । सुदूरपश्चिम र कर्णालीमा आज छिटफुट वर्षा भएको छ भने अन्य प्रदेशका धेरै जिल्लामा वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले विस्तारै मौसम सुधारको क्रममा रहेको जानकारी दिँदै भोलि पनि ठाउँठाउँमा बदली रहेको बताउनुभयो । 

विभागका अनुसार आज राति  देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै भोलि मङ्गलबार देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस