सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । उहाँ ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
साहले राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु गर्नुभएको थियो । जनमत पार्टीमा उपाध्यक्षसमेत भइसकेका नेता साह पार्टीभित्रको विवादलगायतका कारण पार्टीबाट निष्कासित हुनुभयो । जेनजी आन्दोलनपछि उहाँले नयाँ राजनीतिक पहिचानका लागि जनस्वराज पार्टी गठन गर्ने प्रयास गर्नुभयो । प्रारम्भमा अदालतले यसलाई मान्यता नदिएपछि उहाँले पार्टीको नाम परिवर्तन गरेर गत मङ्सिरमा सर्वोदय पार्टी दर्ता गराउनुभयो । उहाँ सर्वोदय पार्टीका अध्यक्ष बन्नुभयो । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा उहाँले रास्वपासँग मिलेर घण्टी चुनाव चिह्न लिएर सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवार बनेर निर्वाचित हुनुभयो ।
विसं. २०३३ सालमा जन्मिनुभएका साहले गाउँमै विद्यालय तहको अध्ययन पूरा गर्नुभयो । उहाँले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभयो । उहाँ २३ वर्षभन्दा बढी समयदेखि जलविद्युत् परियोजनामा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गर्नुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरका रूपमा समेत काम गर्नुभएको छ । उहाँलाई काम गर्दा ऊर्जा परियोजना, दक्षता मूल्याङ्कन र संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएकाले नीति बनाउने ठाउँमा पुगेर नीति र कानुन बनाई त्यसको अधारमा देशमा व्याप्त रहेको बेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्न सकिन्छ भन्ने सोचसहित दुईदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँले आफ्नो अनुभवलाई देशका लागि उपयोग गर्न राजनीतिमा आएको बताउनुहुन्छ । आफूलाई ऊर्जा नीति, प्रविधि र परियोजना व्यवस्थापनको अध्ययनलाई देशको हितमा थप प्रभावकारी रूपमा उपयोग गर्न संसदीय यात्रामा आउन प्रेरणा मिलेको सुनाउनुहुन्छ ।
आफू विज्ञका रूपमा देशको पहाडी क्षेत्रको विभिन्न ठाउँमा सेवा गरेको साहले बताउनुभयो । राजनीतिमा अरूलाई सहयोग गर्दा चित्त बुझ्दो काम नभएको उहाँको अनुभव छ । नागरिकको गुनासो सुनेर संसद्को यात्रामा आउन थप प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । आफूले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गरेको र देशकै लागि सक्रिय सेवा गर्दै देश बनाउने काम गरेकाले संस्थागत गर्न राजनीतिमा आएर संसद्को उम्मेदवारी दिएर जितेको बताउनुभयो । उहाँले सांसदको काम नीति निर्माण गर्ने भएकाले नीति बनाएर त्यसको कार्यान्वयन गरी नागरिकलाई सुशासनको अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मैले निर्वाचित भएको भोलिपल्टबाटै विज्ञसहितको प्राविधिकलाई नेपाल टेलिकमको एसटिसी मोबाइलमा टाबरको समस्याबारेमा स्थलगत जानकारी लिएको छु । गाउँठाउँको समस्याको अल्पकालीन, मध्यकालीन र दिगो रूपमा समाधानका लागि प्रयास गर्ने पक्षमा छु ।”
आफू जलस्रोत विज्ञ भएकाले नीति निर्माणसँगै देशमा विद्युत् उत्पादन गरेर प्रतिव्यक्ति वृद्धि हुने गरी काम गर्ने उहाँले बताउनुभयो ।