• ३ चैत २०८२, मङ्गलबार

इनिशा विक घटनाका दोषीलाई कडा कारबाहीको माग

blog

जिल्ला प्रशासन कार्यालय परिसरमा निमित्त प्रजिअ यादव भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सङ्घर्ष समितिको टोली ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले इनिसा विक घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाकी विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

सङ्घर्ष समितिले किशोरी इनिसा विकको बलात्कार र हत्या घटनाका दोषीलाई हदै सम्मको कानुनी कारबाहीको माग गर्दै मङ्गलबार गहृमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको सङ्घर्ष समितिले जनाएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका जिल्ला संयोजक नेत्र नेपालीका अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराईमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पुग्नेगरी बुझाइएको हो ।

सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै निमित्त प्रजिअ अर्थात सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले ज्ञापनपत्र गृहमन्त्रीसमक्ष पुग्नेगरी तत्काल पठाउने प्रतिवद्धता जनाउनुभयो । विषेशगरी दलित महिलाहरुमाथि शृङ्खलाबद्ध रुपमा हुने गरेको छुवाछूत, विभेद, अपमान, बलात्कार, हत्याजस्ता घटनाकै सिलसिला इनिसा विकको घटना भएको समितिले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

यस किसिमको गम्भीर अपराधिक घटनामा संलग्नलाई कुनै पनि दबाब र प्रभावमा नपरी निस्पक्ष अनुसन्धान गर्न साथै दोषीलाई कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको माग राखेर ज्ञापनत्रपत्र बुझाएको गङ्गाराम शङ्खरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउनुअघि सङ्घर्ष समितिले सदरमुकाम फुङ्लिङ बजारमा मौन प्रदर्शनसमेत गरेका थिए ।

इनिसा विकको घटनाकै विरोधमा सोमबार सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले समेत प्रदर्शन गरेका थिए । विद्यार्थीले फुङ्लिङ बजारमा प्रदर्शन गर्दै इनिसा विकको बलात्कार र हत्या प्रकरणमा निस्पक्ष अनुसन्धान र छानबिन गर्नुपर्ने, दोषीलाई हदै सम्मको कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्नेजस्ता माग गरेका थिए ।