• ३ चैत २०८२, मङ्गलबार

आधा सिलिन्डर ग्यास पाउँदा पनि उपभोक्तालाई राहत

blog

ग्यास पाएपछि घर फर्किने तयारी गर्दै उपभोक्ता ।

काठमाडौँ, चैत ३ गते । उपभोक्ताले आधा सिलिन्डर एलपी (खाना पकाउने) ग्यास बिक्री–वितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् । मङ्गलवार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताले सङ्कटमा राहत पाएको भन्दै आयल निगमप्रति आभारसमेत व्यक्त गरेका छन् । अभाव भइरहेका बेला आधा सिलिन्डर भए पनि ग्यास पाउँदा खुसी लागेको उनीहरूको प्रतिक्रिया थियो ।

एक उपभोक्ताले भन्नुभयो, “ग्यास कतै नपाएर यहाँ लिन आएको छु । अहिले आधा नै पाइरहेको छ । ९५५ रुपियाँ मूल्य भइहाल्यो । गाह्रो भइरहेका बेला आधा पाए पनि खुसी नै छौँ, यसले काम चलाउन पुग्छ ।”

नजिकको ग्यास डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधा सिलिन्डर भए पनि उपलब्ध गराएको भन्दै आयल निगमप्रति आभार व्यक्त गर्नुभयो । उपभोक्ताले ग्यासको अभावमा आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

उहाँले भन्नुभयो, “म कलङ्की बस्छु । मैले १० दिन भयो खुसीबजारमा नाम लेखाएको तर पालो आएन । आज त छिमेकी भाइहरूको ग्यासै सकिएर खाना पाकेन । धेरै ठाउँमा फोन गर्दा यहाँ दिइरहेको थाहा पाएर आएँ, आधा सिलिन्डर भए पनि पाइयो । उहाँहरूलाई धन्यवाद छ ।”

यता आयल निगमले भने उपभोक्ताको अभाव पूर्ति हुने गरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कनु नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताउनुभयो ।