• ३ चैत २०८२, मङ्गलबार

रास्वपाको सरकार बनेपछि खबरदारी गर्नुस् : उपसभापति वाग्ले

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभिमुखीकरण कार्यक्रमको घण्टी बजाएर उद्घाटन गर्नुहुँदै उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले । तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित प्रतिनिधि सभा सदस्याका लागि अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी छ। ललितपुरको एक होटलमा बिहान १० बजे सुरु भएको अभिमुखीकरण कार्यक्रम रास्वपाका उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गर्नुभयो । 

रास्वपा उपसभापति तथा काठमाडौँ क्षेत्र नं. ९ का नवनिर्वाचित प्रतिनिधि सभा सांसद डिपी अर्यालले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा संसदको भूमिका सम्बन्धमा प्रशिक्षणात्मक मन्तव्य राख्दै रास्वपाले एक सय ८२ सिट जितेको तर देश र जनताले जित्न अझै बाँकी रहेको बताउनुभयो । 

उपसभापति अर्यालले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ८२ सिट जित्दै गर्दा, हामीले रास्वपाका नेताहरुले, निलो घण्टी चुनाव चिन्हले अनि, यहाँ उपस्थित भएका हामी प्रतिनिधिले जित त हासिल गर्‍यौँ यो तर, यो देश र जनताले जित्न बाँकी छ ।”


उहाँले देशका दूरदराजका नागरिकले मेरो लागि सरकार छ भन्ने महसुस हुने गरी डेलिभरी र सुशासन कायम गर्नतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशले जित्ने गरी दूरदराजका सबै नेपाली नागरिकले जित्ने गरी सबै नेपालीलाई अब भने मेरो लागि सरकार छ भेनर महसुस गराउने सरकार निर्माण गरेर डेलिभरी र सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्नेछ ।”

उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा रास्वपालाई अभूतपूर्व जनादेश प्राप्त भएको भन्नुहुँदै यसलाई सम्हालेर आशा, भरोसालाई न्याय गर्ने ऐतिहासिक जिम्मेवारी बोध सबैमा हुनुपर्ने बताउनुभयो । 


उहाँले रास्वपाको एकल सरकार बन्दै गर्दा पनि सांसदले जनताका गुनासा बुलन्द ढङ्गले उठाउनुपर्ने र दबरदारी गर्नुपर्ने भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “हाम्रै एकल सरकार बन्दै गर्दा पनि तपाईंहरुले औंलो ठड्याउनुपर्छ । खबरदारी गर्नुपर्छ । बाटो बिरायौं कि भनेर बोल्नुपर्छ । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासा, मुद्दाहरुलाई बुलन्द ढङ्गले उठाउनपर्ने हुन्छ । यस्ता विशिष्टिकृत प्रतिनिधित्वमा तपाईंहरु जानुपर्ने हुन्छ । नीति, बहसमा सहभागी हुने । विकास निर्माणमा छिटो छिटो क्यच अप गर्नुछ ।”

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो  ।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताउनुभयो ।

‘अभिमुखीकरण कार्यक्रममा संसदको संरचना तथा कार्यप्रणाली : सांसदका अधिकार र जिम्मेवारी’ सम्बन्धमा नेपाल सरकारका पूर्व सचिव सुरेश अधिकारी, ‘सङ्घीय संसदमा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका सम्बन्धमा पूर्व कानुन सचिव तोयानाथ अधिकारी, ‘कृत्रिम बुद्धिमता र एल्गोरिदमः लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव’ सम्बन्धमा अध्येता एवम् आईटी विज्ञ डा. दोभान राईले प्रशिक्षणा दिनुभएको छ । 


सांसदहरु अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोबिता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा र विराज भक्त श्रेष्ठले संसदीय अनुभव र प्रस्तुति समबन्धमा आ-आफ्नो धारणा राख्नुभयो । अभिमुखीकरण कार्यक्रम बुधबार पनि जारी रहनेछ ।

बुधबारको समापन मन्तव्य पार्टी सभापति रवि लामिछानेको हुनेछ । नयाँ सांसदको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता एवम् भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहनुभएका बालेन्द्र शाह (बालेन) भने उपस्थित हुनुभएन ।