• ३ चैत २०८२, मङ्गलबार

हावाहुरीले लाखौंको क्षति, विद्युत सेवा र राजमार्ग अवरुद्ध

blog

बर्दीबास ११ स्थित चुरे भेगमा पर्ने खयरमारामा हावाहुरीले क्षति पु¥याएको घर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास,चैत ३ गते । पश्चिमतर्फबाट आएको तीव्र वेगको सुख्खा हावाहुरीले महोत्तरीको बर्दीबास क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । हावाहुरीका कारण चुरे क्षेत्रका तीन परिवार विचल्लीमा परेका छन् भने रुख ढल्दा राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत सेवा समेत प्रभावित बनेको छ ।

सोमवार (हिजो) साँझदेखि आउको हावाहुरीले बर्दीबास–११ स्थित खयरमारामा घरका टिनका छाना उडाउँदा तीन परिवारका १८ जना विस्थापित भएका छन् । 

इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार दिलबहादुर कार्कीको ईंटाको पर्खाल भएको दुई कोठे घर, धनबहादुर कार्की तथा यज्ञबहादुर कटुवालका घरमा क्षति पुगेको हो । ती घरमा करिब ५ लाख रुपियाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ । 

प्रहरीका अनुसार कटुवालको घरमा मात्रै करिब दुई लाख रुपियाँ बराबरको क्षति पुगेको छ भने कार्की परिवारका घरहरूमा क्रमशः डेढ लाख र एक लाखभन्दा बढी क्षति भएको छ । प्रभावित परिवारहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

त्यस्तै, हावाहुरीले बर्दीबासका विभिन्न स्थानमा विद्युत संरचनामा समेत क्षति पु¥याएको छ । बर्दीबास–१४ मसनघट्टानजिक ३३ केभी लाइनका तीन स्थानमा तार खसेको छ भने बर्दीबास–३ गौरीडाँडामा रुख ढल्दा तार र पोलमा क्षति पुगेको छ । 

बर्दीबास–१ पूर्व–पश्चिम लोकमार्ग क्षेत्रमा तार सटेर स्पार्क हुँदा रातभर विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बर्दीबास कार्यालयले जनाएको छ ।

यसैबीच, बर्दीबास–३ कालापानीस्थित पानस कटेज नजिक साखुको रुख ढल्दा बीपी राजमार्ग करिब दुई घण्टा अवरुद्ध भएको थियो । प्रहरी र वन कार्यालयको सहकार्यमा करिब एक घण्टाको प्रयासमा रुख पन्छाइएपछि सोमवार राति करिब ९ बजेदेखि यातायात सञ्चालनमा आएको डिएसपी विकाश वमले जानकारी दिनुभयो ।

हावाहुरीका कारण कृषि क्षेत्रमा समेत असर परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवका अनुसार चिचिला (टिकुला) लाग्ने बेला रहेको आँप बगैचामा क्षति पुगेको छ । हुरीले आँपका फूल झार्नुका साथै कतिपय स्थानमा पाक्दै गरेको गहुँ बालीसमेत ढालेको छ । साथै, लहरे तरकारीका बोटहरू पनि क्षतिग्रस्त भएका छन् ।

सुख्खा हावाहुरीका कारण किसानहरू मर्कामा परेको उहाँले जनाउनुभयो ।