• ३ चैत २०८२, मङ्गलबार

गण्डकी प्रदेशसभा अधिवेशन आह्वान

blog

कृषि मन्त्रालयको मालेपाटनमा रहेको सभाहल । तस्बिरः गोरखापत्र

लेखनाथ समाचारदाता

लेखनाथ, चैत ३ गते । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही चैत ८ गतेबाट सुरु हुने भएको छ । मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत ८ गते आइतबार दिउँसो १ बजेबाट सुरु हुने गरी अधिवेशन आह्वान गर्नुभएको हो । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल, मालेपाटनमा प्रदेशसभा बैठक हुने प्रदेशसभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो । पहिले नदीपुरमा रहेका प्रदेशसभा सभाहल र सचिवालय जेनजी आन्दोलनका बेला आगलागीबाट ध्वस्त भएपछि अस्थायी रुपमा मालेपाटनमा बैठक बस्न लागेको हो । 

सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा सचिवालय सारिएको पोखरा–१२ मा सभाहल निर्माणको काम नसकिएकाले अस्थायी रुपमा कृषि मन्त्रालयको सभाहलमा बैठक बस्न लागेको जानकारी दिनुभयो । “यता, भर्खर टेन्डरमा गएको छ । पुरानो हल छ, त्यसलाई सुधार गर्ने हो । प्रिफ्याबको कोठाहरु पनि बनाउनुछ,” उहाँले भन्नुभयो, “यसपालिको बैठक कृषि मन्त्रालयको हलमै हुन्छ ।” 

अघिल्लो अधिवेशनसमेत यही भएकाले व्यवस्थापना समस्या नपर्ने उहाँको भनाइ छ । प्रदेशसभाका समितिमा अहिले चार वटा विधेयक छलफलका क्रममा छन् ।