हरि प्रसाद सुवेदी
पुतलीबजार, चैत ३ गते । पछिल्लो समय नेपाली समाजमा देखिएको जीवनशैली परिवर्तनले खर्च गर्ने प्रवृत्तिलाई तीव्र बनाएको छ । विशेषगरी बालबालिका तथा युवापुस्तामा डिजिटल बजार, अनलाइन किनमेल र विलासी वस्तुको सहज पहुँचले “कमाउनेभन्दा खर्च गर्ने” संस्कार बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा बचत गर्ने बानी कमजोर बन्दै जाँदा भविष्यका महत्वपूर्ण क्षणमा आर्थिक अभाव झेल्नुपर्ने बाध्यता अझै गहिरिँदै गएको छ ।
यही समस्यालाई ध्यानमा राख्दै स्याङ्जाको वालिङमा बैंकर्स क्लब अफ वालिङले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम केवल जानकारीमूलक अभियान मात्र नभई, “जीवनशैली परिवर्तन” गर्ने प्रयासका रूपमा अगाडि बढाइएको हो ।
कार्यक्रम ग्लोबल मनी विकको १४ औँ संस्करण अन्तर्गत सञ्चालन गरिएको हो, जुन आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि विश्वभर सञ्चालन हुँदै आएको छ । हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगेको यो अभियानले वित्तीय ज्ञान मात्र होइन, व्यवहार परिवर्तनमा जोड दिने गरेको छ ।
वालिङ क्षेत्रमा सञ्चालन गरिएको यस कार्यक्रम विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरिएको छ । सानै उमेरदेखि पैसाको मूल्य, बचतको महत्व, र खर्च व्यवस्थापन सिकाउने उद्देश्यले कक्षा कोठामै अन्तरक्रिया, प्रस्तुति, खेलमार्फत सिकाइ तथा व्यवहारिक अभ्यास गरिँदैछ ।
बैंकर्स क्लब अफ वालिङका अध्यक्ष नविन काफ्लेका अनुसार कार्यक्रमको मुख्य उद्देश्य केवल जानकारी दिनु होइन, व्यवहारमा परिवर्तन ल्याउनु हो ।
“हामीले देखिरहेका छौँ, अहिलेका बालबालिका र युवाहरूमा खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसैले सानैदेखि बचत गर्ने बानी विकास गर्न सके भविष्यमा आर्थिक रूपमा सक्षम नागरिक तयार हुन्छन् भन्ने हाम्रो विश्वास हो । यो कार्यक्रम त्यसैको सुरुवात हो ।”
उहाँका अनुसार विद्यालयस्तरबाटै वित्तीय शिक्षा सुरु गरिएमा दीर्घकालीन रूपमा समाजमा सकारात्मक आर्थिक संस्कार विकास गर्न सकिन्छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि बचतलाई कमाइकै एक रूपका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले पैसाको महत्व जीवनका हरेक चरणसँग जोडिएको बताउनुभयो ।
“मानिस जन्मेदेखि मृत्युसम्म पैसाको आवश्यकता हुन्छ । तर आम्दानी जति भए पनि बचत गर्ने बानी छैन भने त्यो कमाइ दिगो हुँदैन। त्यसैले ‘बचत नै कमाइ हो’ भन्ने सोच सबैमा विकास हुनुपर्छ ,”ढकालले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक अभ्यास पनि गराइँदैछ । विद्यार्थीहरुलाई दैनिक खर्चको हिसाब राख्ने, सानो बचत योजना बनाउने, बैंक खाता खोल्ने प्रक्रिया बुझ्ने, र आवश्यक तथा अनावश्यक खर्च छुट्याउने अभ्यास गराइने गरिमा विकास बैंकका क्षेत्रीय प्रवन्धक प्रेम किशोर अर्यालले बताउनुभयो ।
ग्लोबल मनी विक विश्वभर एकै समयमा सञ्चालन हुने अभियान हो, जसले वित्तीय साक्षरतालाई जनस्तरमा पु¥याउने लक्ष्य राखेको छ । नेपालमा पनि हरेक वर्ष मार्च १६ देखि २२ सम्म यो अभियान विभिन्न कार्यक्रममार्फत मनाइन्छ ।
यस वर्ष स्मार्ट मनी टक्स् भन्ने नारासहित सञ्चालन भइरहेको अभियानले विशेषगरी बालबालिका र युवालाई लक्षित गरेको छ । उनीहरूलाई पैसाबारे खुला छलफल गर्न, सही निर्णय लिन, र भविष्यका लागि योजना बनाउन चैत ८ गते सम्म नगरभित्र रहेका २१ व्टा वित्तीय संस्थाका प्रतिनिधिले सहजिकरण गर्नेछन् ।