केदार तिमल्सिना
बनेपा, चैत ३ गते । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारको कामलाई थप गरिएको समयमा नै सम्पन्न गर्नका लागि काभ्रेपलाञ्चोक र भक्तपुर दुवैतर्फको कामलाई तीव्रता दिइएको हो ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर (सुइ) विजयकुमार महतोले सडक आयोजनालाई समयभित्रै सम्पन्न गर्नका लागि दुवै जिल्लामा कामको गति बढाइएको बताउनुभयो । उहाँले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकमा दुईवटा ठेक्का मार्फत काम भइरहेको बताउनुभयो । उहाँले सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको सडक खण्डमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो
“काभ्रेपलाञ्चोकतर्फको कामको ठेक्का पाएको निर्माण व्यवसायीले सबै क्षेत्रमा काम अघि बढाएको छ, हालसम्म यो खण्डमा तीन किलोमिटर सडकमा पहिलो लेयर डिबिएम कालोपत्रे गरिसकेको छ, अन्य स्थानमा सिमेन्ट बेस हाल्ने र केही स्थानमा सब बेसको काम भइरहेको छ” सुइ महतोले भन्नुभयो ।
उहाँले काभ्रेपलाञ्चोकतर्फ बनेपा बजार क्षेत्रमा रहेका विवाद समाधान भएर अहिले बजार क्षेत्रमा काम भइरहेको बताउनुभयो । उहाँले आगामी असारसम्म काभ्रेपलाञ्चोकतर्फ ८५ प्रतिशत काम सकिने बताउँदै साढे आठ किलोमिटर सडक खण्डमा पहिलो लेयरको कालोपत्रेको काम सक्ने गरी काम अघि बढाइएको बताउनुभयो । उहाँले मङ्सिर महिनासम्म सबै काम पूरा गर्ने बताउनुभयो ।
यसैगरी सडक आयोजनाअन्तर्गत भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्मको सडक खण्डमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले भक्तपुरतर्फ नाली, टेवा पर्खाललगायतका पूर्वाधार निर्माणको काम ९५ प्रतिशत सकिएको बताउनुभयो । साँगामा करिब एक किलोमिटरको अन्डरपास निर्माण भइरहेको छ । अबको दुई महिनाभित्र अन्डरपास सञ्चालनमा आउने आयोजना प्रमुख सुइ महतोले थप्नुभयो ।
बजेटको कारणले काम रोकिन्न
सरकारले यस आयोजनाअन्तर्गत चालु आवका लागि विनियोजन गरेको बजेट सकिएको छ । आयोजना प्रमुख महतोले विनियोजन भएको बजेट सकिए पनि बजेटका कारण सडक विस्तारको काम नरोकिने बताउनुभयो । “विभाग र अर्थ मन्त्रालयले आयोजनाको दायित्व सिर्जना हुनेबित्तिकै बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका कारण बजेट अभाव हुन्न भन्ने विश्वास छ” उहाँले भन्नुभयो ।
सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुसदेखि काम हुँदै आएको छ । यस्तै काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडकका लागि लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का पाएको छ ।