रमेश विश्वकर्मा
गुल्मी, चैत ५ गते । गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहीबार बिहान हँसरास्थित भित्रि कच्ची सडक खण्डमा बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको ट्रक दुर्घटना भएको हो। पेप्सी कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा अचानक दुर्घटना भएको बताइएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर– ११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवालीले चलाएको ट्रक सडकदेखि अन्दाजी १० मिटर तल खसेको हो। ट्रक दुर्घटना हुँदा चालकको बायाँ खुट्टा र बायाँ आखाँ माथी चोट लागेको छ।
त्यसैगरी ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर– १ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवालीको नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागि घाइते हुनुभएको छ। दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा पठाइएको छ।