• ५ चैत २०८२, बिहिबार

प्रदेशको लगानीमा बनेका संरचना अलपत्र

blog

प्रदेश सरकारको लगानीमा निर्माण भई प्रयोगविहीन भएको थ्रिडी पार्क । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास (गुल्मी), चैत ५ गते । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएका विभिन्न भौतिक संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन् । सञ्चालनका लागि सरोकारवाला निकायले पटक पटक प्रतिबद्धता जनाए पनि प्रभावकारी पहल नहुँदा ती संरचना अलपत्र बनेका हुन् ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेका यस्ता संरचना प्रयोगमा नआउँदा प्रदेश सरकारको लगानी प्रभावहीन बन्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन । दीर्घकालीन योजना र उपयोगिताको स्पष्ट खाकाबिना निर्माण गरिएका संरचना अहिले बेवारिसे जस्तै देखिन थालेका छन् । 

रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा करिब ५५ लाख रुपियाँ लागतमा निर्माण गरिएको तम्घासस्थित थ्रिडी पार्क लामो समयदेखि प्रयोगविहीन छ । नगरपालिकाले मर्मतसम्भारका लागि १० लाख रुपियाँभन्दा बढी खर्च गरिसके पनि पार्क सञ्चालनमा आउन सकेको छैन । सर्वसाधारणको दैनिक आवतजावत हुने स्थानमै रहेको यो पार्कप्रति सम्बन्धित निकायको बेवास्ता देखिएको स्थानीयको गुनासो छ ।

यसै गरी अर्जुन धार्मिक तथा पर्यटकीय क्षेत्रमा उद्योग, वन तथा वातावरण मन्त्रालयको लगानीमा निर्माण गरिएको सेल्फी टावर पनि प्रयोगविहीन बनेको छ । करिब १५ लाख ८४ हजार रुपियाँ लागतमा निर्माण गरिएको उक्त टावर अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन ।

सदरमुकामकै उनायचौर क्षेत्रमा करिब १३ लाख ३८ हजार रुपियाँ लागतमा निर्माण गरिएको ट्री हाउस पनि हाल प्रयोगविहीन अवस्थामा छ । २०७६ सालमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरेको उक्त संरचना सुरुवातदेखि नै उपयोगमा आउन नसकेको स्थानीय बताउँछन् ।

रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता रामजी पन्थीले प्रयोगविहीन संरचना सञ्चालनमा ल्याउन नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवस्थापन गरी थ्रिडी पार्क र ट्री हाउस सञ्चालनमा ल्याइने योजना छ ।

सेल्फी टावर सञ्चालनका लागि भने थप समय लाग्ने उहाँले बताउनुभयो । संरचना सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँगसमेत समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।