काठमाडौँ, चैत ९ गते । ४२ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डल्बुएचओ)का अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार क्षयरोगका बिरामी भएको अनुमान जस मध्ये ४२ प्रतिशत बिरामी उपचारको दायरा नआएको केन्द्रका निर्देशक डा.भुवन पौडेलले जानकारी दिनुभयो ।
गरिबी, सामाजिक विभेद र ‘कलङ्क’ (स्टिग्मा), उपचारका क्रममा हुने आर्थिक भारका कारण बिरामी उपचारको दायरामा नआएको डा।पौडेलको भनाइ छ ।
सरकारले सन् २०३५ सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। यद्यपि, क्षयरोग अझै पनि देशको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एकका रूपमा रहेको छ। आर्थिक वर्ष २०८०÷८१ मा राष्ट्रिय क्षयरोग केन्द्रले ३९ हजार १५१ जना रोगीलाई पहिचान गरी उपचार गरिएको पौडेलको भनाइ छ ।
उपचारको दायरामा आएकामध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५।६ प्रतिशत १५ वर्ष मुनिका बालकाबालिका छन् । उपचारमा रहेका बिरामी मध्ये ७२ प्रतिशत फोक्सो सम्बन्धी क्षयरोगी र २८ प्रतिशत फोक्सो बाहेक अन्य अङ्गमा हुने क्षयरोगका बिरामी छन् ।
नेपालमा औषधी प्रतिरोधी क्षयरोगका बिरामी अनुमानित भन्दा निकै कम बिरामी उपचारको दायरामा आएको डा।पौडेलको भनाइ छ ।डब्लुएचओले नेपालमा प्रतिरोधी क्षयरोगका बिरामीको सङ्ख्या २४ सय रहेको अनुमान गरेपनि हालसम्म ६२५ जना प्रतिरोधी क्षयरोगका बिरामी उपचारको दायरामा आएको तथ्याङ्कले देखाएको छ ।
देशभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध रहेको छ भने धेरै स्थानमा निःशुल्क परीक्षण तथा उपचार सुविधा विस्तार गरिएको छ।साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत समुदाय स्तरमा सक्रिय बिरामी खोजी कार्यलाई तीव्र बनाइएको डा.पौडेललको दाबी छ ।
क्षयरोग कस्तो रोग हो ?
केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा.नवीन प्रकाश शाहका अनुसार क्षयरोग माईको ब्याक्टेरियम ट्युबरकुलोसिस नामको सूक्ष्म ब्याक्टेरियाबाट लाग्ने गर्छ ।यो ब्याक्टेरियाले विशेषगरी फोक्सोलाई असर गर्छ । क्षयरोग ८० प्रतिशत जति फोक्सोमा सङ्क्रमण गर्छ ।
क्षयरोग फोक्सो बाहेक अन्य अङ्गमा पनि असर गर्ने गर्ने उहाँको भनाइ छ ।बिरामीले श्वास फेर्दा, खोक्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ ।
औषधी खान शुरु नगरेको बिरामीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कन्छन् र निरोगी मानिसले स्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा कीटाणु पुगेमा यो रोग लाग्न सक्ने डा.शाहको भनाइ छ ।कुपोषित, धूम्रपान, मद्यपान गर्ने व्यक्ति, मधुमेहका रोगी, एचआइभी सङ्क्रमित क्षयरोगको जोखिममा हुन्छन् ।
लक्षण
दुई हप्ता बढी खोकी लाग्ने, खानामा अरुचि हुने, तौल घट्दै जानु, कमजोर हुनु, साँझपख हल्का ज्वरो आउनु, पसिना आउनु, छाती दुख्नु, खकारमा रगत देखिनु क्षयरोगका प्रमुख लक्षण हुन् । समयमा उपचार नगरेमा मृत्यु हुनसक्ने चिकित्सक बताउँछन् ।
उपचार
लक्षण देखिनसाथ तुरुन्त जाँच गराएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार सेवन गर्न डा.शाहको सुझाव छ । यसको औषधी कम्तिमा तीन महिना देखि महिनासम्म सेवन गर्नुपर्छ ।
सरकारले यो रोगको उपचार निदान, उपचार निःशुल्क गर्दै आएको छ ।यो रोग लाग्न नदिन सरकारले बच्चा जन्मनसाथ नि शुल्क बिसिजी खोप लगाउँदै आएको छ ।
बच्ने उपाय
बीसीजी खोप लगाउने, भिडभाडमा जाँदा माक्स लगाउने, पोषिलो खाना खाने, धूम्रपान र मद्यपान नगर्ने, सङ्क्रमित व्यक्तीबाट टाढै रहने, रोग पहिचान हुनसाथ उपचार सुरु गर्ने ।