• २ जेठ २०८३, शनिबार

टोलीमा पर्न तीव्र प्रतिस्पर्धा

शतकपछि कुशलको प्रतिक्रिया- शीर्ष ब्याटरको राम्रो सुरुआतमा खुसी छु

blog

अमेरिकाविरुद्ध ब्याटिङ गर्नुहुँदै नेपालका ओपनर कुशल भुर्तेल । तस्बिरः क्यान

काठमाडौँ, जेठ २ गते । आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सक्दा बढी खुसी लागेको बताउनुभएको छ ।

अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्नुभएका ओपनर भुर्तेलले खेलपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन, आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ । मेरो व्यक्तिगत शतकभन्दा पनि टोलीको जित सधैँ महत्त्वपूर्ण रहन्छ ।” उहाँले शतक पूरा हुँदाको क्षण व्यक्त गर्न आफूसँग शब्द नै नभएको समेत उल्लेख गर्नुभयो ।

यसअघि ओमानविरुद्धको खेलमा राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा आफू तीन खेलसम्म टोलीबाहिर बस्नुपरेको स्मरण गर्दै भुर्तेलले अभ्यासमा राम्रो ब्याटिङ भइरहे पनि खेलमा त्यसलाई उतार्न नसकेको स्वीकार गर्नुभयो । शीर्ष ब्याटरका रूपमा आफू र आसिफ शेखले राम्रो साझेदारी गर्न सके खेल जित्न सकिन्छ भन्ने विश्वासका साथ मैदानमा सल्लाह गरेरै ब्याटिङ गरेको उहाँको भनाइ थियो । उहाँले विकेट ब्याटिङका लागि सहज भए पनि अमेरिकाले सोचेभन्दा कम योगफल बनाएको उल्लेख गर्नुभयो ।


आफ्नो खेल शैली आक्रामक र आसिफको शैली केही संयमित प्रकृतिको रहेको बताउँदै भुर्तेलले जिम्बावेसँगको खेलमा शतकनजिक पुगेर चुक्नुपर्दा दुःख लागेको स्मरण गर्नुभयो । हाल नेपाली क्रिकेट टोलीको अन्तिम ११ मा पर्न धेरै प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उहाँले आगामी खेलमा पनि दर्शकको यस्तै न्यानो साथ रहने आशा व्यक्त गर्नुभयो । 

शनिबारको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्यलाई नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा १९९ रन बनाउँदै पूरा गरेको हो  खेलमा नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्नुभयो । उहाँले ११८ बलको सामना गर्दै चार छक्का र १३ चौकाको मद्दतले १२० रन बनाउनुभयो । त्यसैगरी अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रनको अर्धशतकीय योगदान दिनुभयो । तेस्रो क्रममा ब्याटिङ गर्न आउनुभएका इशान पाण्डेले ३० बलको सामना गरी २० रन थप्नुभएको थियो ।


टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा १९५ रन बनाएको थियो ।