काठमाडौँ, जेठ २ गते । आइसिसि विश्वकप क्रिकेट लिग–२ मा शनिबार खेल्दा नेपाल र अमेरिका दुई फरक लक्ष्यमा हुने छन् । नेपाललाई शीर्ष चारमा स्थान बनाउन अब कुनै पनि खेल हार्ने छुट छैन । अमेरिकाले भने लामो समयसम्म अधीनमा राखेपछि गुमाएको शीर्ष स्थान फर्काउने कोसिस गर्ने छ ।
चालु त्रिदेशीय शृङ्खला अन्तर्गत यी दुवै टिमले पहिलो खेलमा एकै प्रकारले हार बेहोरेका थिए । स्कटल्यान्डले नेपाल र अमेरिकालाई डकवर्थ लुइसको नियम अनुसार समान दुई रनले पराजित गरेको हो । स्कटल्यान्डसँगको हारपछि नेपालमाथिको दबाब अझ बढेको छ । अब विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुन नेपालले बाँकीका ११ वटै खेल जित्नुपर्ने बाध्यता भएको छ । जसमध्ये तीन खेल मात्र घरेलु मैदानमा बाँकी छ । यसै गरी शीर्ष छ स्थानमा रहेर एकदिवसीय मान्यता जोगाउने नेपालको अर्को लक्ष्य हो । एकदिवसीय ग्लोबल क्वालिफायर स्वतः छनोट अब निकै कठिन बने पनि एकदिवसीय मान्यता जोगाउनु नेपालका लागि यथार्थपरक नै छ । आठ टिम सहभागी विश्वकप लिग–२ २०२३–२४/२०२७ ‘साइकल’ बाट शीर्ष छ स्थानमा रहनेले एकदिवसीय मान्यता पाउने र शीर्ष चारमा रहने टिम विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुने प्रावधान रहेको छ । नेपाल अहिले २५ खेलबाट आठ जित, १५ हार र दुई अनिर्णीत खेलसहित १८ अङ्क बनाएर सातौँ स्थानमा छ । एक दिनअघि स्कटल्यान्डले अमेरिकालाई तल झार्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको थियो । स्कटल्यान्ड ३० खेलबाट ३८ अङ्क र अमेरिका २५ खेलबाट ३६ अङ्कमा छ । यस शृङ्खलामा राम्रो नतिजा निकालेमा अमेरिका उपाधिको सँघारमा पुग्ने छ ।
अमेरिका बलियो टिम हो । यद्यपि स्कटल्यान्डसँग झिनो अन्तरले हारेपछि नेपालका अस्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लले अमेरिकाविरुद्धको खेलमा केही कमजोरी सुधारेर पूर्ण तयार भएर खेल्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “नेपालले अमेरिकाविरुद्धको खेलमा पुनरागमन गर्ने छ । पहिलो खेल ब्याटिङमा केही गल्ती गरेकाले हा¥यौँ । एक दिनको विश्राममा ती सबै गल्तीबारे विश्लेषण हुने छ ।” यसै गरी नेपाललाई अर्को फाइदा भनेको त्रिवि क्रिकेट मैदानमा अमेरिकाले अहिलेसम्म पाँच खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । सन् २०२० मा पहिलो पटक विश्वकप लिग–२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल र ओमान सहभागी त्रिदेशीय शृङ्खलामा अमेरिकाले चारै खेलमा पराजय बेहोरेको थियो । करिब छ वर्षपछि नेपाल फर्केको अमेरिका चालु शृङ्खलाको पहिलो खेलमा पनि स्कटल्यान्डसँग निराश बन्यो । यद्यपि हेड टु हेडमा अमेरिका अगाडि छ । यी दुई टिमबिच भएका ११ मध्ये अमेरिकाले छ र नेपालले चार खेल जितेको छ । एक खेल रद्द भएको थियो । पछिल्ला पाँच खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर छ । पछिल्ला चार ओडिआईमा नेपाललाई हराउने अमेरिका घरेलु टिमका लागि कठिन टिम हुन सक्छ । अमेरिका सानदार लयमा पनि छ । स्कटल्यान्डसँग हार्नुअघि अमेरिका लगातार चार खेलको विजयी यात्रामा थियो । स्कटल्यान्डसँगको हारमा पनि अमेरिकाले एक च्याम्पियन टिमका रूपमा खेलेको थियो । पाँच ओभरमा ८९ रन बनाउनुपर्ने स्थितिमा रहेको अमेरिका अन्ततः अन्तिम ओभरमा दुई विकेट गुमाएपछि दुई रनले निराश बनेको थियो ।
अमेरिकाका मिलिन्द कुमार, शुभम रन्जाने र हर्मित सिंहसँग एनपिएल खेलेको अनुभव छ । मिलिन्द, साइतेजा मुक्कामल्ला, स्मित पटेल र कप्तान मोनाङ्क पटेलको उपस्थितिले अमेरिकाको ब्याटिङ निकै सुदृढ छ । यस प्रतियोगितामा मिलिन्द २२ पालिमा १०२० रन बनाएर सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । मुक्कामल्ला २० पालिमा ९७८ रनसहित तेस्रो स्थानमा रहनुभएको छ । एक दिनअघि स्कटल्यान्डविरुद्ध मुक्कामल्लाले प्रतिकूल परिस्थितिमा ७५ बलमा पाँच चौका र आठ छक्कासहित १०४ रनको चामत्कारिक पालि खेल्नुभएको थियो । यसै गरी पटेल नेपालविरुद्ध शतक बनाइसकेका ब्याट्सम्यान हुनुहुन्छ । उहाँले पनि स्कटल्यान्डविरुद्ध आक्रामक ७२ रन बनाएर आफू सानदार लयमा रहेको देखाइसक्नुभएको छ । खेलमा पकड बनाउनु छ भने नेपालले पटेललाई ‘पावर प्ले’ मै आउट गर्नु जरुरी छ । यसै गरी अनुभवी बलर सौरव नेत्रावल्करको नेतृत्वमा रहेको अमेरिकाको बलिङ आक्रमणमा पनि खोट लगाउने ठाउँ छैन ।
पछिल्लो शृङ्खलालाई समेत नियाल्ने हो भने नेपालका लागि स्थायी रूपमा दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले मात्र राम्रो प्रदर्शन गरिरहनुभएको छ । अमेरिकालाई हराउनु छ भने अन्य खेलाडीले पनि आआफ्नो जिम्मेवारी उचित ढङ्गले निर्वाह गर्नुपर्ने हुन्छ । स्कटल्यान्डविरुद्धको खेलमा गुल्सन झाले ३५ बलमा अविजित ६१ रन बनाएर नेपाललाई जितको निकै नजिक पु¥याउनुभएको थियो । अमेरिकाविरुद्ध पनि गुल्सनबाट यस्तै प्रदर्शनको अपेक्षा हुने छ । गुल्सन अहिले राम्रो बलिङ लयमा पनि हुनुहुन्छ । यसले कप्तान रोहितलाई सही ढङ्गले आफ्ना बलरलाई परिचालन गर्न धेरै सहज बनाइदिएको छ । शीर्ष क्रममा आसिफ शेखको प्रदर्शनमा स्थिरता छैन । कप्तान रोहित पौडेलले पनि प्रेरणादायी खेल देखाउन सकिरहनुभएको छैन । अर्जुन कुमाल र विनोद भण्डारीबाट पनि आशा गरे जस्तो ब्याटिङ भएको छैन । ईसान पाण्डे पदार्पणलाई पर्खिरहनुभएको छ । त्यसैले अमेरिकाविरुद्धको खेलमा शीर्ष क्रममा फेरबदलको सम्भावनालाई नकार्न सकिँदैन । नेपालको मध्यक्रमलाई चलाउने स्थिति छैन । नेपालको बलिङमा विविधता छ तर त्यसको उपयोग सही किसिमले हुन सकिरहेको छैन । प्रशिक्षक लले नेपाल क्रिकेटमा आवश्यक तीन पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो भएकाले चालु शृङ्खलामा बाँकीका तिनै खेलमा अनुकूल नतिजा ल्याउने बताउनुभएको छ ।