जेरुसलेम, जेठ २ गते । हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल-हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल-हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।
प्यालेस्टेनी सशस्त्र इस्लामिक लडाकू समूह (हमास)ले पनि अल-हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेता र लडाकू कमान्डरलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।
शुक्रबार सेनाले गाजामा अल-हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उहाँको मृत्यु भएको पुष्टि शनिबार गरेको हो । सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए) ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल-हद्दादको मृत्यु भएको छ ।” हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् ।
“हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, “गाजा शहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल-हद्दादले शाहदत प्राप्त गर्नु भएको छ ।” हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उहाँको मृत्युको पुष्टि गरेका छन् ।
हमास निकट स्रोतका अनुसार, हद्दाद, उहाँकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो । एएफपीका तस्बिरमा शोकाकुल व्यक्तिले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ । इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डर मध्ये एक भएको बताएको छ ।
युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउँ सार्ने व्यवस्था गर्नेे काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ । “हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भन्नुभएको छ ।
“मैले फिर्ता भएका बन्धकसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल-हद्दादको नाम आउने गरेको थियो,” जमिरले भन्नुभयो । उहाँले भन्नुभयो, “आज हामी अल-हद्दादलाई हटाउन सफल भयौँ । आइडिएफले शत्रुलाई पछ्याउने कामलाई जारी राख्ने छ, उनीहरूलाई आक्रमण गर्ने छ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउने छ ।” इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ । रासस/एएफपी