• २ जेठ २०८३, शनिबार

ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा लघु जलविद्युत् आयोजना निर्माण तीव्र

blog

तीव्र रूपमा निर्माण कार्य भइरहेको नागपोखरी लघु जलविद्युत् आयोजनाको संरचना ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, जेठ २ गते ।  ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्‍याउन यो आयोजना सुरु गरिएको हो ।

बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्‍याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कुल १५ किलोवाट क्षमताको यस आयोजनाको कुल लागत एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रहेको छ ।

उक्त रकममध्ये वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र फक्ताङ्लुङ गाउँपालिकाको १० प्रतिशत लगानी रहेको छ । हाल ताप्लेजुङ जिल्लाका अधिकांश क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसके पनि भौगोलिक विकटताका कारण ग्याब्लामा तत्काल राष्ट्रिय लाइन पुग्ने अवस्था नभएकाले लघु जलविद्युत् योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आउने पर्यटकका कारण पर्यटकीय मौसममा ग्याब्ला गाउँ खचाखच हुने पर्यटन व्यवसायी एवम् फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले बताउनुभयो । विद्युत् आयोजना सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाका साथै पर्यटकहरूलाई समेत ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।