यदुप्रसाद भट्ट
मनाङ, जेठ २ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत अन्नपूर्ण पदमार्गमा वैशाख २०८३ मा उल्लेख्य संख्यामा पर्यटक पुगेका छन् । एक्याप मनाङको तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै कुल ७ हजार २ सय पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
तथ्याङ्कअनुसार सार्क राष्ट्रबाट ९ सय ६९ पर्यटक मनाङ पुगेका छन् । तीमध्ये ७ सय ३८ पुरुष र २ सय ३१ महिला रहेका छन् । सार्क मुलुकमध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै ९ सय ६१ जना पर्यटक मनाङ पुगेको एक्याप मनाङका कार्यालय प्रमुख ढाकबहादुर भुजेलले बताउनुभएको छ ।
त्यसैगरी अन्य विदेशी मुलुकबाट ६ हजार २ सय ३१ पर्यटक मनाङ पुगेका छन् । तीमध्ये तीन हजार ४ सय ५५ पुरुष, २ हजार ७ सय ७४ महिला तथा दुई जना अन्य लिङ्गका पर्यटक रहेका छन् । विदेशी पर्यटकमध्ये सबैभन्दा बढी इजरायलबाट १ हजार २ सय ९ जना पर्यटक आएको तथ्याङ्कमा उल्लेख छ ।
पर्यटन व्यवसायीका अनुसार मौसम अनुकूल हुनु, पदमार्गको सुधार तथा हिमाली दृश्यावलोकनप्रतिको आकर्षणका कारण मनाङमा पर्यटक आगमन बढ्दै गएको हो । अन्नपूर्ण पदमार्ग विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ । पर्यटक आगमन बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधि समेत चलायमान बनेका छन् ।