काठमाडौँ, फागुन २७ गते ।गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा १० जना पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्।
पराजित हुने स्वास्थ्य मन्त्रीमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ र उपेन्द्र यादव हुनुहुन्छ ।
प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मीत पोखरेलले पराजित गर्नु भएको हो । पोखरेलले ३० हजार ७३७ मत ल्याई विजयी हुँदा पौडेलले नौ हजार १५९ मत प्राप्त गर्नुभएको थियो ।
भानुभक्त ढकाल
एमालेबाट तेह्रथुम–१ मा उम्मेदवार हुनुभएका पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित हुनुभएको छ ।उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले पराजित गर्नुभएको हो । सुब्बाले ११ हजार ५६१ मत ल्याएर विजय प्राप्त गर्दा ढकालले १० हजार ६८२ मत ल्याउनुभएको थियो ।
गिरिराजमणि पोखरेल
पूर्व स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेलले यसपटकको निर्वाचनमा पराजय भोग्नुपरेको छ। नेकपाबाट महोत्तरी–१ मा उम्मेदवार बनेका पोखरेललाई रास्वपाका प्रमोदकुमार महतोले झण्डै तीन गुणा बढी मतान्तरले पछि पार्नुभएको हो । महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो ।
गगनकुमार थापा
नेपाली कांग्रेसका सभापति तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा पनि सर्लाही–४ बाट पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंह ले पराजित गर्नुभएको हो ।डा.सिंहले ३५ हजार ६८८ मत सहित विजय हासिल गर्दा थापाले २२ हजार ८३१ मत ल्याउनुभएको थियो ।
पदम गिरी
नेकपा एमालेका तर्फबाट पर्वत–१ बाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्य मन्त्री पदम गिरी पनि यसपटक पराजित हुनुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालसँग पराजित हुनुभएको हो। भुसालले २६ हजार ५६१ मत ल्याएर विजय हासिल गर्नुभएको छ । गिरीले १५ हजार ७५ मत ल्याउनुभएको थियो ।
प्रदीप यादव
पर्सा–१ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्य मन्त्री प्रदीप यादव पनि पराजित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्त उक्त क्षेत्रबाट निर्वाचित हुनुभएको छ । पन्तले २७ हजार २७४ मत प्राप्त गर्दा यादवले १३ हजार ३० मत ल्याउनुभएको छ ।
शेरबहादुर तामाङ
सिन्धुपाल्चोक–२ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थयमन्त्री शेरबहादुर तामाङ नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालसँग पराजित हुनुभएको छ ।दुलालले २९ हजार ६९९ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।सोही समय तामाङले १५ हजार ९२६ मत प्रँपत गर्नुभएको छ ।
उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष रहनुभएका पूर्व उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीसँग पराजय हुनुभएको छ चौधरीले ३२ हजार ८७५ मतसहित विजयी हुँदा यावले १५ हजार मत प्राप्त गर्नुभएको छ ।
राजेन्द्र महतो
सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो रास्वपाका रविन महतोसँग पराजित हुनुभएको छ । रविन महतोले ४२ हजार ५१२ मत ल्याउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महतोले जम्मा पाँच हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।
हृदयेश त्रिपाठी
नवलपरासी पश्चिम–१ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी रास्वपाका विक्रम खनालसँग पराजित हुनुभएको छ । खनालले ४५ हजार २४१ मत ल्याउँदा त्रिपाठीले जम्मा सात हजार ८३२ मत ल्याउनुभएको थियो ।