• २५ पुस २०८२, शुक्रबार

‘जनचेतनाको अभावले लक्ष्य अनुसार नवजात शिशुको परीक्षण हुन सकेन’

नवजात शिशुको स्वास्थ्य परीक्षण किन गर्ने ?

blog

काठमाडौँ, पुस २४ गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको परीक्षण ‘न्यू बोर्न स्क्रिनिङ’ सेवा सञ्चालनमा आएको एक वर्ष बितिसक्दा लक्ष्य अनुसार परीक्षण हुन सकेको छैन ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नवजात शिशुको परीक्षण सेवा सञ्चालनमा आएको एक वर्ष पुग्दा पनि लक्ष्य अनुसार परीक्षण हुन नसकेको बताउनु हुन्छ ।

नवजात शिशुमा वंशाणुगत रोग समयमा नै पत्ता लगाउने उद्देश्यले अस्पतालले गत आर्थिक वर्षदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।परीक्षणका लागि आवश्यक जनशक्ति र सामग्री सीमित हुँदा यसको बारेमा जनचेतनाको अभावले गर्दा सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । 


अस्पतालमा जन्मिएका करिब ५० प्रतिशत नवजात शिशु परीक्षण गर्ने अस्पतालको लक्ष्य थियो । अस्पतालमा वार्षिक करिब २४ देखि २५ हजार नवजात शिशु जन्मिन्छन् । प्याथोलोजी विभागका वरिष्ठ कन्सल्टेन्ट डा. विभूति दाहालका अनुसार यो अवधिमा करिब चार हजार पाँच सयभन्दा बढी नवजात शिशुको परीक्षण गर्दा ३४ जनामा विभिन्न प्रकारका वंशाणुगत रोगको पुष्टि भएको थियो ।  

अस्पतालका बालरोग विशेषज्ञ डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार नवजात शिशु जन्मेको केही दिनभित्र ‘ब्लड स्पट टेस्ट’ गरिन्छ ।

उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “यो परीक्षण शिशु जन्मिएको केही दिनमा खुट्टाबाट रगत निकाल्ने गरिन्छ । यसले सिकल सेल लगायतका जन्मजात गम्भीर प्रकारका रोग पत्ता लगाउन मद्दत गर्छ ।”


 यो सेवा किन लिने

 कर्माचार्यका अनुसार अस्पतालमा हरेक महिना करिब दुई सय भन्दा बढी नवजात शिशु अस्पतालमा भर्ना हुन्छन् । 

कतिपय शिशुको गर्भमै र कतिपय शिशुको जन्म पश्चात मृत्यु हुन्छ । मृत्युको प्रमुख कारणमध्ये सङ्क्रमण, जन्मदै निस्सासिनु, समय नपुगी र कम तौलको शिशु जन्मनु रहेको छ । 

कतिपयको मृत्यु जन्मजात समस्याको कारणले हुने उहाँकाे भनाइ छ । अस्पतालमा गरेको अध्ययनले करिब आठ सय शिशु मध्ये २३ शिशुलाई जन्मजात समस्या पुष्टि भएको छ। समयमा नै रोग पत्ता लगाउन सकेमा शिशुको अकालमै मृत्यु र भविष्यमा देखिन समस्या रोक्न सकिने डा. कर्माचार्य बताउनु हुन्छ । 

कुनकुन रोगको परीक्षण गरिन्छ 

नवजात शिशुको परीक्षण गरेर छ वटा वंशाणुगत रोग पहिचान गर्न सकिने डा‍. दाहाल बताउनु हुन्छ ।जसमा फोक्सो र पाचन प्रणाली असर गर्ने, दुधमा रहेको ग्यालेक्टोज पचाउन नसक्ने, भिटामिन सेभेन डिफिसिएन्सी, रक्तकोषिका छिटो टुक्रिने, फिनाइलएलानिन नामक एमिनो एसिड पचाउन नसक्ने लगायतका रोग पत्ता लगाउन सकिन्छ । 

आइआरटी परीक्षण

आइआरटी परीक्षण गरेर सिस्टिक फाइब्रोसिस रोग भएनभएको पत्ता लगाउन सकिने डा.दाहाल बताउनु हुन्छ । उहाँका अनुसार यो फोक्सो र पाचन प्रणालीमा असर गर्ने जन्मजात रोग हो । 

परीक्षण गर्दा आइआरटी बढी भएमा सिस्टिक फाइब्रोसिसको शङ्का गरिन्छ । यो रोग लागेमा शरीरमा नुनको कमी हुने, उल्टी हुने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छ ।

 अस्पतालमा यसको जाँच गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो । समयम नै यसको उपचार गरिएन भने शिशुको ज्यानै जाने जोखिम हुने उहाँको भनाइ छ ।

ग्यालेक्टोसिया परीक्षण

डा. दाहालका अनुसार यो परीक्षण गरेर ग्यालेक्टोसिया भए नभएको पत्ता लगाउन सकिन्छ । शिशुमा यदि यो समस्या भएमा दुधमा रहेको ग्यालेक्टोज पचाउन नसक्ने हुन्छ । 

दुध खुवाएपछि वान्ता गर्ने, पखाला लाग्ने, कलेजो बिग्रने, आँखामा समस्या देखिने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा दुध खुवाउन तुरुन्त बन्द गर्नुपर्छ ।

 बायोटिनिडेज परीक्षण 

यो परीक्षणले शरीरमा बायोटिनिडेज डिफिसियन्सी भए नभएको पत्ता लगाउन परीक्षण गरिन्छ । यसको डिफिसियन्सी भएमा शरीरमा बायोटिन (भिटामिन ७) प्रयोग गर्न सक्दैन । यस्तो समस्या भएमा छालामा समस्या उत्पन्न हुने, कपाल झर्ने, विकासमा ढिलाइ हुने जस्ता समस्या देखिन्छन् । यो रोग समयमा नै पत्ता लगाएमा निको हुन्छ ।

जि सिक्स पिडी परीक्षण

जि सिक्स पिडी डिफिसिएन्सीको परीक्षण गरिन्छ । यो रोग लागेमा रक्तकोषिका छिटो टुक्रिने गर्छ । यसले गर्दा रक्तअल्पताको समस्या निम्तन्छ । फिनाइलकेटोनरिया परीक्षण यो परीक्षण फिनाइलकेटोनरिया भएनभएको पत्ता लगाइन्छ। चिकित्सकका अनुसार फिनाइलएलानिन नामक एमिनो एसिड पचाउन नसक्ने रोग हो । यसको उपचार नगरेमा मानसिक विकासमा समस्यामा उत्पन्न हुन्छ।

हेमोग्लोबिन डिसअडर

यसमा हेमोग्लोबिन सम्बन्धी समस्या भए नभएको पत्ता लगाउन सकिन्छ । यसले थालासेमिया, सिकल सेल एनिमिया र अन्य रक्तअलपता सम्बन्धी रोग भए नभएको पत्ता लगाउन सकिन्छ ।

बालरोग विशेषज्ञ डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार बच्चा स्वस्थ देखिए पनि रोग लुकेको हुनसक्ने भएकाले जन्मनसाथ यो छ वटा रोग भए, नभएको जाँच गराउनु पर्छ ।

उहाँका अनुसार समयमै रोग पत्ता लागे धेरै रोग पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । सरकारले परोपकार तथा स्त्रीरोग अस्पतालमा जन्मिएका नवजात शिशुलाई यो छ वटा रोगको निःशुल्क परीक्षण गर्दै आएको छ ।

भविष्यमा अन्य रोगको परीक्षण गर्ने अस्पतालको लक्ष्य छ । संसारका विकासित तथा अन्य मुलुकमा समेत जन्मनासाथ विभिन्न ३५ प्रकारका रोगको परीक्षण गरिन्छ । जसका कारण ती मुलुकमा नवजात शिशु, बाल शिशु मृत्युदर घट्दै गएको छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।