• १९ फागुन २०८२, मङ्गलबार

टर्कीले इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द गर्‍यो

blog

टर्की, फागुन १९ गते । टर्कीले इरानसँगको आफ्नो स्थलसीमाबाट हुने यात्रु आवागमन अस्थायी रूपमा स्थगित गरेको छ। यद्यपि व्यापारिक कारोबार र आधिकारिक आवागमन भने सहज रूपमा जारी रहने अधिकारीहरूले जनाएका छन्।

टर्कीको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै तीन प्रमुख स्थलमार्गीय सीमा नाकामा यात्रु आवागमन सावधानीका उपायस्वरूप आपसी सहमतिमा स्थगित गरिएको जनाएको छ। मन्त्रालयले सीमा क्षेत्रमा कुनै असाधारण अवस्था नरहेको स्पष्ट पार्दै दुई देशबीच व्यापारिक मालसामानको आवागमन नियन्त्रित र व्यवस्थित रूपमा जारी रहेको उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार इरानले आफ्ना नागरिकलाई टर्की हुँदै स्वदेश फर्कन अनुमति दिइरहेको छ। टर्कीले पनि आफ्ना नागरिक तथा इरानबाट आउने तेस्रो मुलुकका नागरिकलाई प्रवेशमा रोक नलगाएको जनाएको छ।

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाउँदै मन्त्रालयले सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको र आवश्यक जनशक्ति तथा नियन्त्रण पूर्वाधार सुदृढ पारिएको जानकारी दिएको छ।

यसअघि तेहरानस्थित टर्की दूतावासले इरानमा रहेका टर्कीका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गर्दै सुरक्षा सूचना जारी गरेको थियो। अमेरिका र इजरायलले हालै इरानमा गरेको आक्रमणपछि बढ्दो क्षेत्रीय तनावका कारण यस्तो कदम चालिएको जनाइएको छ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल