पञ्चायतकालमा सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा पकड जमाएका नेताको सूची लामो छ । बैतडीका ललित चन्द, लोकेन्द्रबहादुर चन्द, डोटीका खड्गबहादुर सिंह, खड्गबहादुर (केबी) शाही र नारायणदत्त भट्ट, अछामका नैनबहादुर स्वाँर, बाजुराका प्रकाशबहादुर सिंह, डडेलधुराका लालबहादुर खडायतका साथै बझाङका वीरेन्द्रबहादुर सिंह, चन्द्रजङ्गबहादुर सिंह र गगनजङ्गबहादुर सिंह सुदूर पश्चिमेली चर्चित पञ्च नेता थिए ।
त्यसअघि २००७ सालको क्रान्तिमा संलग्न भई राष्ट्रिय राजनीतिमा उदाएका पूर्वप्रधानमन्त्री डा. केआई सिंह (डोटी) र डडेलधुरा पुख्र्याैली थलो रहेका पुष्करनाथ उप्रेती पनि पञ्चायतमै प्रवेश गरे र उप्रेती पछि मन्त्री बने । ललित चन्द (सहिद दशरथ चन्दका विमातृ भाइ) राष्ट्रिय पञ्चायत अध्यक्ष बनेका थिए ।
लोकेन्द्रबहादुर चन्दले मन्त्री नै नबनी सिधै राष्ट्रिय पञ्चायत अध्यक्षबाट प्रधानमन्त्री बन्ने मौका पाए । खड्गबहादुर सिंह र नैनबहादुर स्वाँर गृहमन्त्री बने भने केबी शाही परराष्ट्रमन्त्री भए । लालबहादुर खडायत जलस्रोतमन्त्री, प्रकाशबहादुर सिंह गृहराज्यमन्त्री र पछि पञ्चायत तथा स्थानीय विकासमन्त्री, नारायणदत्त भट्ट पनि पञ्चायत तथा स्थानीय विकासमन्त्री बनेका थिए । वीरेन्द्रबहादुर सिंह र गगनजङ्गबहादुर सिंह राज्यमन्त्री रहे ।
सम्भाव्य प्रधानमन्त्रीको सूचीमा रहेका भनिएका खड्गबहादुर सिंहको समेत २०४४ सालमा दाङमा सडक दुर्घटनामा परी निधन भयो । यसरी सुदूरपश्चिममा शक्तिशाली मन्त्रीहरू र प्रधानमन्त्रीसम्म जन्मिए पनि त्यस क्षेत्रले विकास निर्माणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकेन । २०४९ सालमा कर्णाली पुनः निर्माण भएपछि मात्रै सुदूरपश्चिम काठमाडौँसँग जोडिन सक्यो । विकास निर्माणका हिसाबले यस क्षेत्रलाई सधैँ राज्यको मूलधारबाट टाढै राखियो । सुदूरपश्चिमका पहाडी जिल्ला सदरमुकाममा सडक पुग्न गणतन्त्रकाल कुर्नु प¥यो । मानवविकास सूचकाङ्कका दृष्टिले सुदूरपश्चिमका पहाडी जिल्लाहरू आज पनि देशका पछाडि परेका जिल्लाको सूचीमा छन् र तीमध्ये बाजुरा त झनै पछाडि छ ।
यसरी हेर्दा पञ्चायतकालमै शक्तिशाली मन्त्री र प्रधानमन्त्रीसम्म पुगेका नेता हुँदाहुँदै पनि सुदूरपश्चिम विकास निर्माण र पूर्वाधारमा किन पछि प¥यो ? यस प्रश्नको जवाफका पछाडि अनेक कारण छन् तर मूल कारण शक्ति र सत्तामा पुग्ने अधिकांश नेताको आफ्नै क्षेत्रप्रतिको बेवास्ता र दूरदर्शिताको कमी हो । धेरै जसो पञ्च नेताले सुदूरपश्चिमलाई विकास निर्माणका क्षेत्रमा अघि ल्याउने भन्दा पनि त्यस क्षेत्रलाई जमिनदार शैलीमा मौजा र बिर्ताकै रूपमा हेरे । अनि निर्वाचनका बेला प्रकट भएर चुनाव जित्दै आए । त्यतिबेला प्रायः सुनिन्थ्यो यदि विकास निर्माणका काम अहिले नै सम्पन्न भए अर्को चुनावमा जनतालाई के आश्वासन दिएर मत माग्ने ? पञ्चहरूको यही कुल्सित सोचाइका कारण पनि सुदूरपश्चिमले समयमै विकास निर्माणको स्वाद चाख्न पाएन । कतिपय बहुदलवादी नेताले पनि सुदूरपश्चिमको विकास निर्माणमा पञ्च नेताकै सोचाइ अनुसरण गरे । त्यसैले पनि सडक–यातायात, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवाबाट सुदूरपश्चिम वञ्चित रहँदै आयो ।
तर सुदूरपश्चिमका सबै पञ्च नेता यस्तै सोचाइ र चेतनाले ग्रस्त थिए भन्ने होइन । सुदूरपश्चिमको विकासका लागि दिलो ज्यान दिएर निःस्वार्थ भावले काम गर्ने केही पञ्च नेता पनि थिए । तीमध्ये एक थिए बाजुराका नरसिंह गिरी । सामान्य परिवारमा जन्मिएका गिरी बाजुराको शैक्षिक विकासका क्षेत्रमा चम्किला नक्षेत्र हुन् ।
‘बाजुराको शिक्षाका ज्योति’ उपमा पाएका गिरीले जिल्लाको शैक्षिक विकास र पूर्वाधार निर्माणमा पु¥याएको योगदानको जति प्रशंसा गरे पनि त्यो कमै हुने छ ।
नरसिंहको योगदान
नरसिंह गिरीको जन्म विसं १९८३ फागुनमा बाजुरा जिल्लाको कैलाशमाण्डौ, कालापानीमा भएको थियो । गिरी सामान्य परिवारमा जन्मिएका थिए । उनको परिवारलाई खान लगाउनै धौ धौ थियो । उनको परिवार दशनामी समुदाय अन्तर्गत पर्ने हुँदा भिक्षाटन पनि गर्नु पथ्र्यो ।
गाउँमा विद्यालय नहुँदा पढाइलेखाइको कुनै अवसर थिएन । जिल्लामा रोजगारी थिएन । त्यतिबेला सुदूरपश्चिमका सबै जिल्लाका बासिन्दा रोजगारीका लागि भारतमा काम गर्न जान्थे । किशोरावस्थामा प्रवेश गरेपछि नरसिंह गिरी पनि गाउँका साथीसँगै काम खोज्न भारततिर लागे । विकट सुदूरपश्चिमबाट भारतीय सहर पुगेका गिरी त्यहाँको झिलिमिली र विकास निर्माणबाट प्रभावित भए । उनले सबै प्रगतिका पछाडि शिक्षाको अहम् भूमिका रहेको महसुस गरे । गाउँमा विद्यालय नहुँदा आफूले पढ्न नपाएको पीडा गिरीको मनमा गहिरो गरी बसेको थियो । त्यसैले भारत पुगेपछि उनले नोकरीभन्दा शिक्षा रोज्ने निर्णय गरे ।
कुल्ली चौकीदारी काम गर्न गएका गिरीले अन्ततः विद्यालयमा भर्ना भई पढाइ सुरु गरे र २००२ सालमै भारतबाट म्याट्रिक (एसएलसी) उत्तीर्ण गरे । म्याट्रिक उत्तीर्ण गरेपछि गिरी स्वदेश फर्किए । निरक्षर अवस्थामा भारत गएका उनी फर्कंदा साक्षर मात्र नभई शिक्षित व्यक्ति बनिसकेका थिए । उनको चेतनाको क्षितिज फराकिलो भइसकेको थियो ।
त्यसैले उनी गाउँ फर्केर आफूले आर्जन गरेको शिक्षाको ज्योति फैलाउन चाहन्थे । यही सोचाइका साथ उनले आफ्नै गाउँमा विद्यालय स्थापना गर्ने योजना अघि सारे र २०१४ सालमै बाजुराको कैलाशमाण्डौ, सालडाँडामा विद्यालय स्थापना गरे । विद्यालय खोले पनि गाउँलेमा पढ्नु पर्छ भन्ने चेतनाको कमी थियो । त्यसैले धेरैले आफ्ना छोराछोरी विद्यालय भर्ना गर्दैनथे ।
त्यसैले गिरी आफैँ गाउँले सबैलाई सम्झाएर छोराछोरीलाई विद्यालय भर्नाका लागि हौस्याउँथे । पछि मुस्किलले गाउँलेले विद्यार्थी भर्नामा अभिरुचि देखाए । त्यति बेला बाजुरामा स्कुल पढ्ने प्रचलन नभएका कारण सुरुमा विद्यालय भर्ना भएका विद्यार्थीको उमेर अहिले एसएलसी दिने विद्यार्थी सरह थियो । छोरीचेली नपढाउने चलन भएका कारण छोरीचेलीलाई भने विद्यालय पठाइन्नथ्यो ।
नेपालमा सुर्खेतका दलवीरसिंह कामीले भेरी नदीमा र पूर्वी नेपालको तमोर नदीमा तथा विष्णुमाया लिम्बूले जसरी निजी पहलमा झोलुङ्गे पुल निर्माण गरे त्योभन्दा बढी दुःख उठाएर बाजुराका नरसिंह गिरीले पञ्चायतकालमै बाजुराको मौ¥यामा बुढीगङ्गामा नितान्त व्यक्तिगत पहलमा झोलुङ्गे पुल निर्माण गरेका थिए । त्यतिबेला बुढीगङ्गामा स्थानीयले हिउँदमा काठको साँघु बनाए पनि वर्षाको बाढीसँगै त्यो बगेर जान्थ्यो ।
वर्षामा बुढीगङ्गा उर्लेर आउँथ्यो । वर्षमा बुढीगङ्गामा पुल नहुँदा भए बाबियोको घाट (तुइन) नभए जँघार तर्नुपर्ने बाध्यता थियो । वर्षायामको उर्लंदो बुढीगङ्गालाई जँघारले पार गर्नु भनेको ज्यान हत्केलामा राख्नु थियो । बुढीगङ्गामा जँघार तार्न सघाउनेलाई पैसा तिर्नु पथ्र्यो तर सबैसँग पैसा हुँदैनथ्यो । त्यसैले बुढीगङ्गा वारपार गर्दा कैयौँले ज्यान गुमाएका पीडादायी घटना थिए ।
गिरीले एक पटक त्यस्तै घटना प्रत्यक्ष देखेपछि उनको मनमा बुढीगङ्गामा स्थायी पुल निर्माणको सोचाइ पलायो । अनि उनले बुढीगङ्गामा पुल निर्माण गरी छाड्ने प्रण गरे । त्यसपछि उनी पुल निर्माणको सामग्रीबारे बुझ्न फेरि भारत गए । भारतमा उनी पहिले आफूले काम गरेको मालिककहाँ पुगे । पुल निर्माणमा ती भारतीयले सघाउने वचन दिए । त्यस व्रmममा ती भारतीयले अरू मनकारीलाई पनि सो अभियानमा जोडे । धेरैले सकेको आर्थिक सहयोग गरे । भारतमा काम गर्ने बाजुरेलीहरूसँग पनि उनले चन्दा उठाए ।
उनले आफ्नो निजी सम्पत्ति, श्रीमतीका गहनासमेत बेचबिखन गरे । त्यसपछि भारतमै पुलका लागि आवश्यक सामग्री खरिद गरे । मोतीदाना कम्पनीद्वारा निर्मित फलामे लट्ठा, सरियालगायत सबै सामग्री भारतको सीमावर्ती सहर टनकपुरमा झारे । टनकपुरबाट बाजुरेली जनतालाई आह्वान गरी ती सामग्री बोकेरै पुल निर्माण स्थल बाजुराको मौ¥या पु¥याए ।
पुलका सामग्री निर्माण स्थलमा पु¥याइसके पनि त्यसको कुनै इन्जिनियरिङ डिजाइन भइसकेको थिएन । न त त्यसमा जिल्ला पञ्चायतबाट कुनै प्राविधिक सहयोग प्राप्त थियो । त्यसैले गिरी आफैँ पुलको डिजाइन हेर्न डोटीको दिपायलमा सेती नदीमा बनेको पुल हेर्न पुगे । पछि सोही पुलको खाका अनुसार बुढीगङ्गामा पुल निर्माण गर्न सफल भए । उनको सपनाले साकार रूप लियो । सुरुमा पुल बनाउने कुरा गर्दा ठट्टा सम्झने गाउँले नतमस्तक बने । त्यसपछि सबैले गिरीलाई आदर्श मान्न थाले ।
त्यतिबेलाको बाजुरा, काँडा (काँडा पहिले बझाङको भूभाग थियो, २०१९ सालपछि बाजुरामा पारिएको थियो) का प्रकाशबहादुर सिंह शक्तिशाली पञ्च नेता थिए । २०२४, २०३०, २०३३ सालको राष्ट्रिय पञ्चायतमा निर्वाचित सिंहको पालामा जिल्लामा हुनुपर्ने जति विकास निर्माणका काम केही भएका थिएनन् । जिल्लामा शिक्षा, पुल, बाटोघाटो मर्मत आदि कार्य आफ्नै निजी पहलमा अघि बढाएका गिरीको निःस्वार्थ त्याग र समाजसेवी भावनाबाट जनता निकै प्रभावित बने । जनताले उनलाई राजनीतिमा आएर गाउँमा सरकारबाटै बजेट निकासा गरी थप विकास निर्माणका कार्य अघि बढाउन अनुरोध गरे ।
गिरीमा पनि निजी पहलभन्दा नीति निर्माण तहमा पुग्न सके जिल्ला र गाउँका लागि धेरै गर्न सक्छु भन्ने लाग्यो । गिरी पञ्चायत सरकारको नजरमा समेत परे । त्यसपछि गिरी गाउँ फर्क अभियानको सदस्य बने र उनले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव लडे । चुनावमा उनले बाजुराका राजनीतिक हस्ती प्रकाशबहादुरलाई हराउँदै राष्ट्रिय पञ्चायत सदस्य बने । राष्ट्रिय पञ्चायत सदस्य बनेपछि गिरीले बाजुराको विकास निर्माण र शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरे । उनको कार्यकालमा बाजुरामा २२ वटा झोलुङ्गे पुल र ९० विद्यालय स्थापना भएका थिए ।
उनको पालामा बाजुराको कोल्टीमा विमानस्थल बन्यो । विमानस्थल निर्माणका लागि आएको ६८ लाख रुपियाँमध्ये उनले ४३ लाख मात्रै खर्च गरे । बचेको २५ लाख रुपियाँ सरकारलाई नै बुझाए । कोल्टी विमानस्थल निर्माणमा उनले क्षेत्रीयताको भाव राखेनन् । खासमा कोल्टी उनको क्षेत्रभन्दा बाहिर पथ्र्यो । त्यसै गरी गिरीकै पहलमा सबैलाई पाइक पर्ने हिसाबले बाजुराको हालको सदरमुकाम मातर्डीमा सारियो । त्यसअघि बाजुराको सदरमुकाम टाटेमा थियो ।
२०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन भने गिरीले जित्न सकेनन् । गिरीको लोकप्रियताबाट त्रसित प्रकाशबहादुरले साम, दाम, दण्ड, भेद नीति अख्तियार गर्दै चुनाव जिते । त्यसपछि २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई देशमा प्रजातन्त्र आइहाल्यो । बहुदलकालमा भने गिरी राजनीतिमा देखिएनन् । त्यसपछि गिरी जिल्लाको विकास निर्माण र धार्मिक स्थलको पहिचान र प्रवर्धनमा लागे । उनले योगी नरहरिनाथलाई बाजुरा लगेर नाटेश्वरीमा कोटीहोमसमेत गराएका थिए ।
बाजुराको विकास निर्माण शिक्षाका ज्योति नरसिंह गिरी अहिले भने हामीमाझ छैनन् तर बाजुरेली जनताले गिरीलाई अहिले पनि यसरी सम्झने गरेका छन् :
सालडाँडामा स्कूल बनाई मौर्यामा पुल हाल्यौं
धन्यवीर नरसिंह गिरी विकास गरी छाड्यौं ।