• १९ फागुन २०८२, मङ्गलबार

अध्यक्ष ओलीको सन्देश : मतदाताबाट अपार माया पाएको छु

blog

मतदातामाझ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधारभुमि भएकाले मतदाताको अपार माया रहेको बताउनुभएको छ । निर्वाचनमा मौन अवधी सुरु हुनुभन्दा केही समयअघि सन्देश जारी गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।

 ‘विशेषगरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरु यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ । यहाँका जनताले सधैं साथ दिनुभएको छ’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ  ‘मैले पनि विकास, पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिवद्धता कायम राखेको छु । यो मेरो राजनीतिक आधारभुमि हो ।’

उहाँले यो सामान्य परिस्थितीको निर्वाचन नभएको, अन्तर्राष्ट्रिय जटिलता र राष्ट्रिय चुनौतीबिचमा यो निर्वाचनले देशको भविष्य र दिशा तय गर्ने महत्वपूर्ण निर्णय गर्ने अध्यक्ष ओलीको भनाइ छ । 

संविधान निर्माणदेखि नाकाबन्दी र महामारीसम्म हरेक संकटमा देशलाई राजनीतिक स्थिरतामा राख्न प्रयास भइरहेको उल्लेख गर्नुभएको छ ।  ‘राष्ट्रिय स्वाभिमान, नयाँ चुच्चे नक्सा र सन्तुलित कूटनीतिक सम्बन्धका विषयमा हामीले कुनै सम्झौता नगरी स्पष्ट अडान लिएका छौँ’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ  ‘आज विश्व अस्थिर छ, भू–राजनीति जटिलता छ। यस्तो अवस्थामा हाम्रो देश भावनामा होइन, परिपक्व कूटनीति र अनुभवी नेतृत्वमा अघि बढ्नुपर्छ।’

चुनाव प्रचारको छोटो समयमा आफू निर्वाचन क्षेत्रका दमक, कमल, गौरादह र गौरीगञ्जका अधिकांश ठाउँमा पुगेको स्मरण गर्दै अध्यक्ष ओलीले आफू जहाँ पुगे पनि मतदातको अपार माया पाएको उल्लेख गर्नुभएको छ । निर्वाचन प्रचारका क्रममा आफूले जान नसकेका ठाउँ र भेट्न नसकेका मतदातासँग पनि निरन्तर सम्पर्क र समन्वय गरिरहने अध्यक्ष ओलीको प्रतिवद्धता छ ।