• १८ फागुन २०८२, सोमबार

खोटाङतर्फ जाँदैगरेको गाडी फोक्सिन्टारमा दुर्घटना

blog

दुर्घटनामा परेको गाडी ।

गोरखापत्र अनलाइन

उदयपुर, फागुन १८ गते । उदयपुरको रौतामाई गाउँपालिका –५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डमा आज बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका –७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाइते भएका छन् ।

गाईघाटबाट खोटाङतर्फ जाँदैगरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एकजना यात्रु मात्र सवार रहेको बताइएको छ।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताउनुभयो ।