राममणि दाहाल
हेटौँडा, फागुन १८ गते । हेटौँडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा निर्वाचन सुरक्षामा खटिएका एक म्यादी प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पिकअप गाडीको ठक्करबाट घाइते हुनुभएका रौतहट फतुवा विजयपुर नगरपालिका–७ का पवन साहको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।
गत बिहीबार बिहान २:४५ बजे हेटौँडा उपमहानगरपालिका–८, कर्रा पुल नजिक पूर्व–पश्चिम सडकखण्डमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको पिकअप गाडीले साहलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत २४ वर्षीय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच, हेटौँडा–१० स्थित भुटनदेवी मोड बाइपास सडकखण्डमा सोमबार दिउँसो गाडीले स्कुटरलाई ठक्कर दिँदा चालक क्षितिज रायमाझीको मृत्यु भएको छ । बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका हेटौँडा–५, शान्तिनगरका १८ वर्षीय रायमाझीलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटरको पछाडि सवार हेटौँडा–७ का १९ वर्षीय सङ्गम झा घाइते हुनुभएको छ । उहाँको सन्चो अस्पताल, मकवानपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक बारा अमलेखगञ्जका २० वर्षीय शेरचन बललाई नियन्त्रणमा लिएको छ ।