• १८ फागुन २०८२, सोमबार

भ्रामक सूचनाबाट बच्न स्वनियम

blog

प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सरल र सहज प्रविधि भएकाले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको सही र समुचित प्रयोग हाम्रा लागि उपयोगी हुन्छ । यो केवल सञ्चारको माध्यम मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको एक शक्तिशाली औजार पनि हो । नेपालमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायत सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । एक अध्ययनको निष्कर्षले भन्छ कि सामाजिक सञ्जालमा बढी समय बिताउने व्यक्तिले नकारात्मक मानसिक स्वास्थ्य अनुभव गर्छ । युट्युब, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालका मञ्चले हामीलाई एकअर्कासँग जोडेका छन्, सूचनाको प्रवाहलाई द्रुत बनाएका छन् र विश्वलाई एउटा सानो गाउँमा परिणत गरिदिएका छन् तर यो प्रविधिको वरदान सँगसँगै केही विकृति पनि भित्रिएका छन् । 

सामाजिक सञ्जाललाई आपसी समझदारी र सकारात्मक संवादको माध्यम बनाउनुको सट्टा कतिपयले यस मञ्चलाई अरूको बदनाम गर्ने, अनावश्यक आलोचना र टीकाटिप्पणी गर्ने, सङ्गठित साइबर समूहमार्फत घृणा फैलाउने, अमर्यादित गालीगलौज र अशिष्ट व्यवहार प्रदर्शन गर्ने थालो बनाउने गरेका छन् । यसै गरी प्रमाणविहीन र तथ्यहीन सूचनामार्फत जनमानसलाई भ्रममा पार्ने, अश्लील सामग्री साझा गर्ने तथा समाज र राष्ट्रको हितविपरीतका विषय प्रचारप्रसार गर्ने गलत अभ्यासले नयाँ पुस्तालाई दिग्भ्रमित, संवेदनहीन र दिशाहीन बनाउँदै लैजाने खतरा पनि छ ।

नेपालमा गरिएको विभिन्न अध्ययन अनुसार सामाजिक सञ्जाल मिथ्या सूचना फैलिने प्रमुख माध्यमका रूपमा देखिएको छ । अध्ययनले नेपालका करिब ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत कुनै न कुनै रूपमा मिथ्या सूचना प्राप्त गरेको जनाउँछ । प्रयोगकर्ताले विशेष गरी युट्युब, फेसबुक र ट्विटर (एक्स) जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा मिथ्या तथा भ्रामक सूचना बढी देखिने गरेको बताएका छन् । 

सामाजिक सञ्जालमा देखिएको कुनै पनि सामग्री सोचविचारबिना सहजै पत्याइहाल्ने प्रवृत्ति पछिल्ला दिनमा बढ्दै छ । सूचनाको सत्यता परीक्षण नगरी लहड र भावनाको भरमा त्यसलाई स्वीकार्ने तथा फैलाउने अभ्यासले समाजमा भ्रम र मिथ्या सूचनाको प्रभाव गहिरिँदै छ । यसले तथ्य र यथार्थको विश्लेषणभन्दा पनि हतारमा धारणा बनाउने गलत संस्कार मौलाउँदै जान्छ । सचेत वर्गसमेत सामाजिक सञ्जाललाई आत्मसंयम र संवादको माध्यमभन्दा आफ्ना कुण्ठा पोख्ने, आक्रोश व्यक्त गर्ने र प्रतिशोध साँध्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । विशेष गरी राजनीतिक दलका समर्थक एकअर्काविरुद्ध लाञ्छना लगाउने, घृणा फैलाउने र व्यक्तिगत आक्रमण गरेर सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् । यसले सामाजिक सद्भावलाई कमजोर बनाउँदै सञ्जाललाई क्रमशः असामाजिक दिशातर्फ धकेलिरहेको छ ।

सेन्टर फर मिडिया रिसर्चले मिथ्या सूचनालाई यसरी परिभाषित गरेको छ– ‘मूलतः झुटो, गलत, भ्रमपूर्ण वा हानिकारक हुने गरी घटना, अभिव्यक्ति, तथ्याङ्क वा तर्कको प्रयोग वा व्याख्या गरेर समाचारको रूपमा प्रस्तुत गरिएका आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री ।’ पूर्ण रूपमा झुटो रहेको कुरा नै मिथ्या सूचना मानिन्छ भने, केही सूचना तथ्यपूर्ण भए पनि त्यसमा केही झुटो पक्ष मिसाइएमा त्यसलाई भ्रामक सूचना भनेर वर्गीकरण गरिन्छ । यसरी मिथ्या र भ्रामक सूचनालाई विभिन्न तहमा वर्गीकरण गर्न सकिन्छ ।

युनेस्कोले यसलाई तीन प्रमुख प्रकारमा विभाजन गरेको छ– ‘मिसइन्फर्मेसन,’ ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ । कुनै सूचना गलत भए पनि फैलाउनेले त्यसलाई सही ठानेर सेयर गरिरहेको भए त्यसलाई ‘मिसइन्फर्मेसन’ भनिन्छ । त्यसको विपरीत, फैलाउनेले सूचना गलत छ भनेर जान्छ तर जानाजानी अरूलाई भ्रमित पार्न फैलाएको भए त्यसलाई ‘डिसइन्फर्मेसन’ भनिन्छ, जुन प्रायः कसैको चरित्र हत्या, हानि पु¥याउने वा नकारात्मक प्रभाव पार्ने उद्देश्यले प्रयोग गरिन्छ । यी दुई प्रकारभन्दा अझै घातक प्रकार ‘मालइन्फर्मेसन’ हो, जसले देश, व्यक्ति, संस्था वा समूहप्रति हानि पु¥याउने उद्देश्यका साथ फैलाइन्छ । यस प्रकारको वर्गीकरणले मिथ्या सूचना र भ्रामक सूचनाको प्रकृति बुझ्न र त्यसविरुद्ध सचेत रहन महìवपूर्ण आधार प्रदान गर्छ ।

भ्रामक सूचनाबाट बच्न केही प्रभावकारी उपाय अपनाउन सकिन्छ, जसको प्रयोगले यसलाई केही हदसम्म नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्छ । कुनै पनि सूचना आँखा चिम्लेर विश्वास गरी तुरुन्तै सामाजिक सञ्जालमा सेयर गर्नुभन्दा पहिले केहीबेर पर्खने र त्यसको सत्य असत्य जाँच गर्ने बानी विकास गर्नु पर्छ । आफूले प्राप्त गरेको सूचना कति विश्वसनीय छ भन्ने पुष्टि गर्न ‘फ्याक्ट चेक डट ओआरजी’, ‘पोलिटीफ्याक्ट’, ‘अल्ट न्युज’ र ‘नेपाल फ्याक्ट चेक डट ओआरजी’ जस्ता तथ्य जाँच गर्ने प्लेटफर्म र वेबसाइटको सहारा लिन सकिन्छ । साथै, सूचना कसबाट आएको हो, लेखक वा वक्ता को हो र लेखक वा वक्ता त्यस विषयका विशेषज्ञ हुन् कि होइनन् भन्ने कुरा पनि अनिवार्य जाँच गर्नु पर्छ । यस्ता सचेत अभ्यास अपनाएमा भ्रामक सूचनाबाट जोगिन सकिन्छ । कानुन र त्यसको कार्यान्वयनका आफ्नै व्यवस्था भए पनि, आफ्नो सुरक्षाको जिम्मेवारी सबैभन्दा पहिले आफैँले लिनु पर्छ । प्रविधिलाई सकारात्मक सोचका साथ आत्मसात् गर्ने हो भने यसले समाज र राष्ट्र दुवैको हित गर्छ । विज्ञान र प्रविधि वरदान हुन्, भ्रमको खेती गरेर तिनलाई दूषित बनाउँदै श्रापमा परिणत हुन दिनु हुँदैन ।

विश्वका विभिन्न देशमा निर्वाचन नजिकिँदै गर्दा मिथ्या सूचना व्यापक रूपमा फैलिन थाल्छ । राजनीतिक दल, उम्मेदवार र समर्थकहरूले मतदातासम्म आफ्नो नीति र विचार पु¥याउन सामाजिक सञ्जाल जस्तै युट्युब, फेसबुक, ट्विटर र टिकटकको व्यापक प्रयोग गर्छन् । अन्य समयमा पनि तथ्यहीन र द्वेषपूर्ण सूचना फैलिन सक्छ तर निर्वाचनको समयमा यसले सामान्य मतदातालाई भ्रमित, दुविधामा पार्ने र कतिपय अवस्थामा उनीहरूलाई आफू मिथ्या सूचनाको सिकार भएको चाल पाउन पनि सक्दैनन् । यसले निष्पक्ष निर्वाचन, जातीय सद्भाव र लोकतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले मतदाताले आधिकारिक सूचना प्राप्त गर्न निर्वाचन आयोगलाई मात्र भरोसा गर्नु पर्छ । सामाजिक सञ्जालमा पनि सूचना सेयर वा ग्रहण गर्दा स्रोत, आधिकारिकता र सूचना प्रकाशन गर्र्ने अकाउन्टको विश्वसनीयतामा ध्यान दिनु अत्यावश्यक छ ।

मिथ्या एवं भ्रमपूर्ण सूचनाबाट बच्न हरेक नागरिकले स्वनियम पालना गर्न अत्यावश्यक छ । डिजिटल युगमा सूचनाको महामारी बढ्दो छ । सबै सूचना सही र तथ्यपरक हुँदैनन् । सामाजिक सञ्जाल प्रयोग गर्दै गर्दा के कुरामा ध्यान दिनु पर्छ भने सूचनाको स्रोत के कस्तो हो भनेर प्रमाणीकरण गर्न आवश्यक छ । सामाजिक सञ्जालमा सेयर भएका कुनै पनि समाचार पढ्दा त्यो स्थापित र विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन भन्ने यकिन गर्नु पर्छ । कतिपय भ्रम फैलाउने उद्देश्यले चर्चित र मिल्दोजुल्दो डोमेनसमेत प्रयोग गरेको पाइन्छ । सूचनाको गहिराइ नबुझी केवल आकर्षक वा उत्तेजित बनाउने हेडलाइनको भरमा कुनै पनि सामग्रीमाथि प्रतिक्रिया जनाउने, लाइक तथा सेयर गर्ने जस्ता कार्य गर्नु हुँदैन । सामाजिक सञ्जालमा सेयर भएका कुनै पनि समाचार तथा सूचनामाथि शङ्का उत्पन्न भएमा त्यस विषयमा गुगल सर्च गर्ने, तथ्य जाँच गर्ने जस्ता कार्य गर्नु पर्छ । भ्रामक सूचनाबाट बच्न हामीले कुनै पनि सूचना आफ्ना सञ्जालमा सेयर गर्नुपूर्व सामाजमा घृणा वा भ्रम फैलाउन सक्ने खालको त छैन, व्यक्ति, समुदायप्रति त पूर्वाग्रह राखिएको छैन भन्ने कुरालाई ध्यान दिनु पर्छ ।