• १७ फागुन २०८२, आइतबार

निराशालाई आशामा बदल्न निर्वाचनमा जुट्न मतदातालाई संयोजक प्रचण्डको अपिल

blog

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, फागुन १७ गते। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनुभएको छ ।

आज एक भिडियो सन्देश जारी गर्दै उहाँले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फलस्वरूप देश अराजकताउन्मुख बनेको बताउनुभएको छ ।

एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिततातिर धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–बिचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उहाँको भनाइ छ ।

यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उहाँले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यक रहेको बताउनुभयो ।

संयोजक प्रचण्डले हाल नेपाल कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र २५ भन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताउनुभयो । 

नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमीक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उहाँले बताउनुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टी वाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उहाँले उल्लेख गर्नुभयो । आफू र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैँ उभिएको उल्लेख गर्दै उहाँले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यावहारिक कार्यान्वयनका लागि मतदान गर्न अपिल गर्नुभयो । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उहाँले बताउनुभयो ।

“हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । उहाँले मतदातासँग स्थायित्व, सुशासन र समृद्धिका लागि आफ्नो दलको चुनाव चिह्न ‘तारा’ मा मतदान गर्न अपिल गर्नुभएको छ ।

उहाँले जनताको मत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व र सुशासनतर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबिच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका लागि मत आवश्यक रहेको उहाँले बताउनुभयो । युवालाई विदेशिन नपर्ने वातावरण, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्धनलाई प्राथमिकतामा राखिने उहाँले उल्लेख गर्नुभएको छ ।

संयोजक प्रचण्डले ‘तारा’ चिह्नमा मत सामाजिक न्याय, समान अवसर र धनी–गरिबबिचको खाडल घटाउने सङ्कल्पका लागि भएको बताउनुभयो । स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने, डिजिटल सुशासन र पारदर्शिता कायम गर्ने तथा सरकारी सेवा लाइनमा होइन, मोबाइलमार्फत नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता भिडियो सन्देशमा उहाँले व्यक्त गर्नुभएको छ ।

उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आह्वान गर्दै मतलाई सुन्दर भविष्यको आधार बनाउन आग्रह गर्नुभयो । साथै, भदौ २३ र २४ गते घटेका हिंसात्मक घटनालाई अस्वीकार्य भन्दै ती घटनामा संलग्नहरूलाई मतदानमार्फत जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्त्यमा उहाँले फागुन २१ लाई ऐतिहासिक दिनका रूपमा स्मरणीय बनाउन मतदातालाई आफ्नो पक्षमा उभिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “जनताले तारा चिह्नमा छाप लगाएर मतपत्रबाटै भन्नेछन्, भदौ २३ गतेको आमहत्या र भदौ २४ को विध्वंश अस्वीकार्य छ। यी दुवै घटनामा संलग्नहरूले मतदानबाट दण्ड पाउनुपर्छ । फागुन २१ मा हामीसँगै इतिहास लेख्ने छौँ ।”