विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १८ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गर्ने, सभा गर्नेदेखि जताततै आफ्ना प्रचार सामग्री झुन्डयाएर सहरबजार रङ्गीचङ्गी बनाएका छन् तर सप्तरीको गोबरगाढामा अहिलेसम्म न त कुनै उम्मेदवार मत माग्न पुगेका छन् न त त्यहाँ कुनै पार्टी वा उम्मेदवारको प्रचार सामग्री नै भेटिन्छ ।
चारैतिर कोशी नदीका भङ्गालोले घेरिएको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढागाउँ भौगोलिक रूपमा विकट छ । सुक्खायाममै पनि दुई ठाउँमा डुङ्गा चढेर कोशी पार गर्नु पर्छ । बिचबिचमा डेढ÷दुई घन्टा पैदल हिँडेर पुगिने यस बस्तीका मतदाता भने मतदानका लागि पूर्ण रूपमा तयार र उत्साहित देखिएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने गोबरगाढामा एउटा मात्र मतदान स्थल छ । यहाँ महिला २९७ र पुरुष ४५१ गरी कुल ७४८ मतदाता छन् । चारैतिर कोशीको भङ्गालो र भारतीय सीमासँग जोडिएकाले यो मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ । त्यसैले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको संयुक्त गस्ती टोली डुङ्गा चढेर गाउँ पुग्दै नियमित सुरक्षा निगरानी बढाइरहेको राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
बर्सेनि डुबान र आवतजावत, शिक्षा, स्वास्थ्य गोबरगाढावासीको मुख्य समस्या हो तर उहाँहरूको समस्या सुन्न अहिलेसम्म कुनै पनि उम्मेदवार गाउँमा आएका छैनन् । दुई ठाउँमा डुङ्गा चढेर नदी तर्नु, अनि लामो पैदलयात्रा गर्नुपर्ने बाध्यताकै कारण अहिलेसम्म कुनै पनि उम्मेदवार प्रचारप्रसारका लागि गाउँ नआएको स्थानीय बताउँछन् ।
गोबरगाढामा उम्मेदवार नपुगेकै कारण प्रचारप्रसार सामग्री जताततै झुन्ड्याइएको भेटिँदैन । शनिबार संयुक्त सुरक्षाकर्मीको टोलीसँगै रिपोर्टिङका लागि गोबरगाढामा पुग्दा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नआएको स्थानीय सदानन्द सदाले बताउनुभयो । आवतजावत सहज नभएकाले उम्मेदवार प्रचारप्रसार गर्न गोबरगाढा नआएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मत माग्न आउन सजिलो छैन त्यसैले उम्मेदवार यो गाउँमा देखिएनन् तर हामी मत हाल्न तयार छौँ ।”
सुरक्षाकर्मीको नियमित गस्तीले गाउँमा निर्वाचनप्रतिको उत्साह बढाएको छ । सीमावर्ती र विकट भूगोल हुँदाहुँदै पनि शान्तिपूर्ण, भयरहित निर्वाचन हुने विश्वास व्यक्त गर्नुहुँदै मतदाता आफ्नो मताधिकार प्रयोग गर्न दृढ रहेको स्थानीय उनासनदेवी सदाको भनाइ छ । उम्मेदवार नआए पनि रुचाएको उम्मेदवारलाई मत दिने स्थानीय छोटकीदेवी सदाले बताउनुभयो । स्थानीय प्रभु यादवले भन्नुभयो, “उम्मेदवार मत माग्न नआए पनि आफूहरूको समस्यामा साथ दिने उम्मेदवारलाई मतदान गरिन्छ ।”
कुल एक लाख १९ हजार ४३ मतदाता रहेको यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।