ज्ञानु पङ्गेनी
मध्यविन्दु, फागुन १७ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले शनिबार नियुक्तिपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र बुझेका हुन् ।
निर्वाचनका लागि नवलपुरमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल एक हजार ८६९ जना कर्मचारी परिचालन गरिँदैछ । दुवै क्षेत्रतर्फ १० प्रतिशत जगेडा राखिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।
आइतबार र सोमबार निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री तथा मतपत्र हस्तान्तरण गरिने कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र १ अन्तर्गत कावासोती नगरपालिका र देवचुली नगरपालिका (देवचुली–१६ स्थित बाह्रकोल बाहेक) का अन्य सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयबाट तथा मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट फागुन १८ गते बिहान ८ बजेदेखि बुझाइने प्रमुख भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी निर्वाचन क्षेत्र १ अन्तर्गत गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका तथा देवचुली–१६, बाह्रकोल मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले फागुन १७ गते बिहान ११ बजेदेखि सामग्री बुझ्ने छन् ।
निर्वाचन क्षेत्र २ अन्तर्गत कावासोती नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरू तथा मध्यविन्दु नगरपालिका अन्तर्गत राकाचुली, मैनाघाट, कोटघर र धोकाडी बाहेकका मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई फागुन १८ गते निर्वाचन सामग्री र मतपत्र बुझाइने जनाइएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदिकाली गाउँपालिकाका सबै मतदान केन्द्र तथा मध्यविन्दु नगरपालिका अन्तर्गतका राकाचुली, मैनाघाट, कोटघर र धोकाडी मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई फागुन १७ गते सबै सामग्री बुझाइने जनाइएको छ ।