• १८ फागुन २०८२, सोमबार

योगिनी र माया (कवित)

blog

अलिकति बतास चलिरहेछ

पानी र उज्यालो बगिरहेछन्

पृथ्वी र आकाश हेरिरहेछन्

योभन्दा पर तिमी केही सोचिरहेका छौ भने

योभन्दा पर तिमी केही देखिरहेको छौ भने

भ्रमका धर्का तिम्रै आँखामा कोरिएका हुन्


मायालु ! माया त मनमा लागेको कालो 

धुँवा जस्तै पो हो

पछि धूँ धूँ लाग्नेछ

मायाले छेलेको समय सम्झेर

पछि रुँ रुँ लाग्ने छ, 

पछुतो उपहार दिएर

पछुताइरहेको तिमीलाई

फेरि सम्झाउन कुन उपाय खोजुँला म

मायालु ! मसँग मायाको जालो छैन ।


सद्भावले मन फुलेको छ

करुणाले छाती भरिएको छ

मायाको निजत्व अचाक्ली साँघुरो लाग्छ मलाई,

केही पल आनन्दको नाममा

घस्रिएको शरीरको न्यानोमा 

साह्रै क्षणिक मर्छ माया,

मायालु ! यी अवयवहरू पूरा होइनन् रिक्त छन्, लीलामय छन्

प्रीतिको छाया अनन्त छैन पलभरका छन्

रिक्त बाँचेर रित्तिदैनौ स्वयम्ले भरिन्छौ

शब्दहीन शब्दहरू नखोज

त्यही जीवनको मुकाम हो आफँै अर्थिन्छौ ।

मायालु ! प्रेमका पुकारहरू मिथ्या हुन् 

त्यो कतै शून्यतामा हराउँछ

त्यहाँ कतै तृष्णाले पनि बास गर्छ

मलाई तिर्खामा तिर्खा थप्नु छैन

मिलनको पर्दाभित्र

आकाङ्क्षाको लेनदेनमा सामेल हुनु छैन ।


मायालु ! म नै कहाँ बाँकी छु र !

म भन्नु पनि 

एउटा कालो अँगारसरि हुँ

भवसागरको जङ्घारमा निस्सासिइरहेको चेतलाई

रूपको आकारमा नदेख्नु कहिल्यै !

भत्काइरहेछु म हुनुको सर्वस्व

कायाको साकारमा नभेट्नु कहिल्यै ।


मायालु ! माया त बालकको हातको खेलौना जस्तै

फुत्की पो जाला देहसँगै

टुटी पो जाला उमेरसँगै

मसँग खेलको इसारा छैन

मसँग झेलको किनारा छैन ।