अलिकति बतास चलिरहेछ
पानी र उज्यालो बगिरहेछन्
पृथ्वी र आकाश हेरिरहेछन्
योभन्दा पर तिमी केही सोचिरहेका छौ भने
योभन्दा पर तिमी केही देखिरहेको छौ भने
भ्रमका धर्का तिम्रै आँखामा कोरिएका हुन्
मायालु ! माया त मनमा लागेको कालो
धुँवा जस्तै पो हो
पछि धूँ धूँ लाग्नेछ
मायाले छेलेको समय सम्झेर
पछि रुँ रुँ लाग्ने छ,
पछुतो उपहार दिएर
पछुताइरहेको तिमीलाई
फेरि सम्झाउन कुन उपाय खोजुँला म
मायालु ! मसँग मायाको जालो छैन ।
सद्भावले मन फुलेको छ
करुणाले छाती भरिएको छ
मायाको निजत्व अचाक्ली साँघुरो लाग्छ मलाई,
केही पल आनन्दको नाममा
घस्रिएको शरीरको न्यानोमा
साह्रै क्षणिक मर्छ माया,
मायालु ! यी अवयवहरू पूरा होइनन् रिक्त छन्, लीलामय छन्
प्रीतिको छाया अनन्त छैन पलभरका छन्
रिक्त बाँचेर रित्तिदैनौ स्वयम्ले भरिन्छौ
शब्दहीन शब्दहरू नखोज
त्यही जीवनको मुकाम हो आफँै अर्थिन्छौ ।
मायालु ! प्रेमका पुकारहरू मिथ्या हुन्
त्यो कतै शून्यतामा हराउँछ
त्यहाँ कतै तृष्णाले पनि बास गर्छ
मलाई तिर्खामा तिर्खा थप्नु छैन
मिलनको पर्दाभित्र
आकाङ्क्षाको लेनदेनमा सामेल हुनु छैन ।
मायालु ! म नै कहाँ बाँकी छु र !
म भन्नु पनि
एउटा कालो अँगारसरि हुँ
भवसागरको जङ्घारमा निस्सासिइरहेको चेतलाई
रूपको आकारमा नदेख्नु कहिल्यै !
भत्काइरहेछु म हुनुको सर्वस्व
कायाको साकारमा नभेट्नु कहिल्यै ।
मायालु ! माया त बालकको हातको खेलौना जस्तै
फुत्की पो जाला देहसँगै
टुटी पो जाला उमेरसँगै
मसँग खेलको इसारा छैन
मसँग झेलको किनारा छैन ।