फणीन्द्र अधिकारी
लेखनाथ, जेठ २ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ३० गते मर्दी भ्यु प्वाइन्ट नजिकबाट सम्पर्कविहीन 'भन्तेश्वर' भनिने भिक्षु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरी र कास्की प्रशासनलाई खबर गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शव निकाल्नका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो । "बेसक्याम्प नजिकै खोलाको खोँचमा शव भेटिएको छ," उहाँले भन्नुभयो, "आज शव निकाल्न सकिएन, उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकोप्टर उडानमा सहजीकरण गरिदिन पत्र पठाएका छौँ ।"
करिब ४० वर्षीय भिक्षुको शव शनिबार बिहान करिब ८ बजे माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी क्षेत्र स्थित मोदी खोला किनारमा स्थानीयले देखेका थिए । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले मर्दी भ्यु प्वाइन्ट पुगेपछि झोला राखेर ‘घुमेर आउँछु’ भनी निस्किएका पुरुष सम्पर्कविहीन भएको बताउनुभयो ।
बाक्लो कुहिरो लाग्ने, भू–बनावट जटिल रहेको र दिशा अलमलिने भएकाले यो क्षेत्रमा बारम्बार पर्यटकहरू हराउने गरेका छन् । पथप्रदर्शक (गाइड) बिना नजान आग्रह गरिए तापनि पर्यटकले बेवास्ता गर्दा बेलाबेलामा यस्ता दुर्घटना हुने गरेका छन् ।