• १७ फागुन २०८२, आइतबार

मोरङ ६ मा बुढाथोकीको समर्थन ढकाललाई

blog

उज्यालो नेपाल पार्टीका उम्मेदवार एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

विराटनगर, फागुन १७ गते। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ। 

उहाँले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता गर्नुभएको हो। पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र ६ मा विनोद ढकाललाई मात्र देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताउनुभयो। उहाँले आजै एमाले पार्टी समेत प्रवेश गर्नुभएको उम्मेदवार ढकालले बताउनुभयो ।

मोरङ क्षेत्र नम्बर ६ बाट पटक पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएकाले पार्टीभन्दा माथि उठेर उहाँलाई जिताउनुपर्ने बताउनुभयो । मोरङ ६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले मोरङ ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गर्नुभयो । सबै एक भएर मोरङ ६ को समृद्धिलाई अगाडि बढाउने विनोद ढकाल मात्र उपयुक्त पात्र भएको उहाँले बताउनुभयो । 

आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गर्नुभयो । उहाँको पार्टीमा प्रवेशसँगै र समर्थनसँगै नयाँ युवाहरूको भावना र उर्जालाई अगाडि बढाउन ढकाललाई थप सहयोग पुग्ने र यसले विजयको यात्रालाई सुनिश्चित गरेको नेकपा (एमाले) विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले जानकारी दिनुभयो।