काठमाडौँ, फागुन १८ गते । नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उल्लासका साथ मनाउने तयारी भएको छ।
काठमाडौँको वसन्तपुरमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्। वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा पनि होली खेल्न मानिसहरुको भीड देखिन्छ।
साथै, वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शसुरु गरिएको चीर पूजा गर्नेहरुको भीड अहिले बढेको छ। फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा आज होली खेलेर मनाइँदैछ भने तराईका जिल्लामा भोलि (मङ्गलबार) पर्व मनाउने परम्परा रहेको छ।
होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा पनि मनाउने प्रचलन छ। मानिसहरु एकअर्काबिच रङ खेलेर पर्व मनाउँछन्। यस क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा हर्षोल्लासपूर्ण दृश्य देखिएका छन्।









