• ३ वैशाख २०८३, बिहिबार

मानेभञ्ज्याङमा घरदैलोमै कालाजार परीक्षण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख ३ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा कालाजार विरुद्ध सक्रिय खोज तथा परीक्षण अभियान सुरु गरिएको छ । जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर परीक्षणमा जुटेका हुन् । 

गाउँपालिकाका वडा २, ३, ५, ६ र ७ अन्तर्गत नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ । 

विशेषगरी कालाजार पुष्टि भएका बिरामीका परिवार तथा नजिकका समुदायलाई केन्द्रमा राखेर परीक्षण कार्य अघि बढाइएको छ । अभियानअन्तर्गत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का विशेषज्ञ टोलीले प्रत्यक्ष घरदैलोमै पुगेर परीक्षण गरिरहेको छ ।

स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन राकेश कुमार पट्टेलका अनुसार हालसम्म १८ जनामा परीक्षण गरिएको भए पनि कसैमा पनि संक्रमण पुष्टि भएको छैन । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा चार जनामा कालाजार संक्रमण पुष्टि भएको छ । 

तीमध्ये एक जना सिद्धिचरण नगरपालिका–१ तलुवाका रहेका छन् भने अन्य संक्रमित मानेभञ्ज्याङ क्षेत्रकै हुन् । कालाजार, जसलाई भिसेरल लेशमानियासिस पनि भनिन्छ, प्रोटोजोआ परजीवीबाट सर्ने गम्भीर सरुवा रोग हो । यो रोग विशेषगरी बालबालिका तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा बढी देखिने गर्छ । 

स्वास्थ्यकर्मीहरूका अनुसार समयमै रोगको पहिचान र उपचार गर्न सकेमा कालाजार नियन्त्रण सम्भव हुन्छ । त्यसैले यस्ता जोखिमयुक्त क्षेत्रमा सञ्चालन गरिएको सक्रिय खोज तथा परीक्षण अभियानलाई आगामी दिनमा जिल्लाका अन्य पालिकामा समेत विस्तार गर्ने योजना रहेको जनाइएको छ ।