• ३ वैशाख २०८३, बिहिबार

शुक्रबारको मौसम : गर्मी बढ्ने पूर्वानुमान

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा गर्मी बढेर तातो हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  

अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको अवस्था छ। यसैगरी, वैशाख ५ गते शनिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईलगायत अन्य केही भू–भागमा तातो हुने सम्भावना रहेको छ। शुक्रबार र शनिबार राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

साथै, कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।