काठमाडौँ, वैशाख ३ गते ।जियोपोलिटिक्स (भूराजनीति) लाई परम्परागत राज्य सुरक्षा केन्द्रित सोचभन्दा फरक ढङ्गले लैंगिक दृष्टिकोणबाट पुन:परिभाषित गर्नुपर्नेमा जोड दिइएको छ ।
बिहीबार फ्रेडरिक एबर्ट स्टिफ्टुङको सहयोगमा मिडिया एडभोकेसी ग्रुप (म्याग) द्वारा आयोजना गरेको लैङ्गिक दृष्टिकोणबाट जियो-पोलिटिक्सको पुनर्विचार अन्तक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाले भूराजनीतिलाई परम्परागत राज्य सुरक्षा केन्द्रित सोचभन्दा फरक ढङ्गले लैङ्गिक दृष्टिकोणबाट पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषय समयअनुसार परिवर्तनशील हुने बताउँदै जियो-पोलिटिक्सलाई एउटै स्थिर परिभाषाभित्र सीमित गर्न नसकिने उल्लेख गर्नुभयो। समाज र राज्य संरचनामा आउने परिवर्तनसँगै भूराजनीतिक आयाम पनि बदलिँदै जाने उहाँको भनाइ थियो।
उहाँले जियो–पोलिटिक्सलाई परम्परागत रूपमा शक्ति, कठोरता र बहादुरीसँग जोडेर हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई म्यास्कुलिनिटी केन्द्रित सोचको रूपमा व्याख्या गर्नुभयो।
यस्तो सोचलाई परिवर्तन गरी मानव सुरक्षा केन्द्रित दृष्टिकोण अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।
द्वन्द्व, युद्ध वा विभिन्न प्रकारका सङ्घर्षबाट महिला, बालबालिका तथा सीमान्तकृत समुदायहरू बढी प्रभावित हुने वास्तविकतालाई नीतिनिर्माणमा समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राज्य सुरक्षाभन्दा मानव सुरक्षालाई प्राथमिकतामा राखेर जियो–पोलिटिक्सको विश्लेषण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
उहाँले नेपालमा भएका द्वन्द्व तथा राजनीतिक घटनाक्रमका क्रममा महिलामाथि भएका हिंसाका घटनाबारे पर्याप्त तथ्याङ्क अभाव रहेको उल्लेख गर्दै तथ्याङ्कको अभावले महिलाका मुद्दाहरू कमजोर बन्ने बताउनुभयो।
प्रविधिको विकाससँगै नीति निर्माण तथा बहसमा तथ्याङ्कको महत्त्व अझ बढेको भन्दै महिलासम्बन्धी तथ्याङ्क सङ्कलनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
नागरिकताको विषयमा पनि लैङ्गिक विभेद कायम रहेको उहाँले उल्लेख गर्नुभयो। संविधानले महिला र पुरुषलाई समान नागरिक भने पनि नागरिकता सम्बन्धी कानुनमा महिलाले आफ्ना सन्तानलाई नागरिकता दिन कठिनाइ हुने अवस्था रहेको भन्दै यस्तो व्यवस्था राष्ट्रियता र मानव अधिकारको दृष्टिले पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो।
उहाँले महिलाका अनुभव, भोगाइ र जीवनसँग जोडिएका विषयहरूलाई पनि नीतिनिर्माणको आधार बनाउन सके मात्र समावेशी तथा दिगो नीति निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
जियो–पोलिटिक्सलाई लैङ्गिक दृष्टिकोणबाट पुनःपरिभाषित गर्दै निरन्तर संवाद र बहस अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा आर्मीका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापालले युद्धको कारणले गर्दा महिला बालबालिका, जेष्ठ नागरिक बढी प्रभावित हुने बताउँदै राज्य सुरक्षित भएमात्र नागरिक सुरक्षित हुन्छन् भन्ने अवधारणबाट मावन सुरक्षा अवधारणबारे सोच्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्ताङले पूर्विय दर्शन अनुसार नारीलाई शक्तीको रुपमा उजार्गरण गरेको भएपनि पश्चिमा संकृति अपनाउँदा यसलाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली टाइम्सकी सम्पादक सोनिया अवाले मिडिया समाजको ऐना भएकाले समाचारमा भएका घटनालाई न्युज रुपमा सबै समुदायका जनशक्ति समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाचार कोड लिँदा महिलालाई पनि उदृत गरेर समाचार संकलन गर्दा समाजको समस्या हो हो भनेर बुझ्न सहज हुने जिकिरगर्नुभयो ।