• ३ वैशाख २०८३, बिहिबार

धनुषामा पूर्व वडाध्यक्ष मृत अवस्थामा फेला

blog

मृत अवस्थामा फेला परेका पूर्व वडाध्यक्ष प्रदिप महतो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, वैशाख ३ गते । 
धनुषाको सबैला नगरपालिका–१२, का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला पर्नुभएको छ । इलाका प्रहरी कार्यालय सबैलाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको हो ।

प्रहरीका अनुसार शव भेटिएको स्थलमा १०/१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतलसमेत भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार मृतक महतोसहित आठ/नौ जनाकोे समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले मृत्युको ठोस कारण तत्काल खुल्न नसकेको बताउँदै छानबिन र शव परीक्षणपछि मात्रै थाहा हुने बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घटनास्थलमा महतोसँगै रहेका भनिएका समूह हाल फरार रहेका छन् । उहाँहरुको पहिचान गर्ने तथा खोजी कार्य तीव्र पारिएको छ । प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिनुभयो ।

मृतक महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट सबैला नगरपालिका–१२, को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।