• ३ वैशाख २०८३, बिहिबार

कान्द्रा-कटनी जलाधार संरक्षणका लागि सरोकारवालाको सामूहिक प्रतिबद्धता

blog

सुखडमा आयोजित कान्द्रा कटनी जलाधार संरक्षणका लागि नागरिक अन्तरसंवाद कार्यक्रम । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), वैशाख ३ गते । कान्द्रा कटैनी उपजलाधारका प्रमुख सवाल, मुख्य समस्या, चुनौती र अवसरहरुका विषयमा जलाधार नागरिक अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जलाधार क्षेत्र संरक्षणका लागि कैलालीका सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा आयोजित ‘जलाधार संरक्षण नागरिक अन्तरसंवाद’ कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिहरूले जलाधार संरक्षणलाई आजको अत्यावश्यक चुनौतीका रूपमा स्वीकार गर्दै सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीका प्रमुख डा. किशोर अर्याल तथा संयुक्त नागरिक सञ्जालको तर्फबाट लिलाधर न्यूरेले जलाधारको अवस्था,समस्या, चुनौती र अवसरका विषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमा जलाधार सङ्कटमा पर्दै गएकोले व्यवस्थापनका लागि वन, नदी पुर्नस्थापना, पानीको स्रोत व्यवस्थापन, जिविकोपार्जनमामा मुख्य ध्यान दिई तीनै तहको सरकारले नीति तथा योजना बनाउनु पर्नेमा जोड दिइएको छ ।

कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य जगतप्रसाद जोशीको प्रमुख आतिथ्यताममा सम्पन्न उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सभासदस्य, खुशीराम चौधरी, जानकीदेवी कुँबर, जिल्ला समन्वय समिति प्रमुख टिकाकुमारी चौधरी, घोडाघोडी नगरपालिका नगरप्रमुख खडकबहादुर रावत, गौरीगंगाका नगर प्रमुख देवीदत्त कंडेल, कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरी, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालय सचिव दिर्घनारायण कोईराला लगायत वन वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नागरिकको तर्फबाट जलाधारका समस्या र समाधानका विषयमा विभिन्न सुझाव दिइएको थियो । अधिकांस वक्ताहरुले अनाधिकृत रुपमा नदी जन्य पदार्थ उत्खनन् नै मुख्य संकटको जड रहेको औंल्याएका थिए । पत्रकार पुष्पराज  जोशीले पछिल्लोसमय नदीजन्य पदार्थ जथाभावी उत्खनन्ले संरक्षणमा ध्यान दिन नसकेको बताउनुभयो ।

त्यसैगरी विमल प्रकाश जोशीले विस्तृत अध्ययन नगरी जथाभावी खोलीने सडक सञ्जाल, तालतलैया अतिक्रमण, सामुदायिक वन र स्थानीय सरकारविचको टकरावलगायतले जलाधार क्षेत्र संकटमा पर्दै गएको बताउनुभयो । उहाँले ठेकेदार र कार्यान्वयन गर्ने निकायविच समुदायलाई जोडेर काम गर्न सुझाव दिनुभयो ।

उपप्राध्यापक पुष्पराज जैशीले वातावरण संरक्षण सम्वन्धि स्थानीय पाठ्यक्रम बनाएर युवा, विद्यार्थीलाई संरक्षणमा जोड्न सुझाव दिनुभयो । त्यसैगरी अर्का उपप्राध्यापक सुनिलराज सापकोटाले सरकारले डुवान र बाढी पिडीतहरुकालाई स्पष्ट निती बनाएर जोखिम र खण्डिकृत बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकिने सुझाव दिनुभयो।

वन अधिकृत विश्वराज पण्डितले भु तथा जलाधार ऐन कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उक्त ऐनलाई टेकेर काम गर्न सके धेरै समस्या समाधान हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य जोशीले कार्यपत्रमा प्रश्तुत भएका विषय र नागरिकबाट उठेका सुझावलाई संकलन गरेको उल्लेख गर्दै समाधानका लागि सम्वन्धित ठाउँमा आफ्नो भूमिका रहने बताउनुभयो ।

अतिथि दिर्घाबाट बोल्ने अधिकांश वक्ताहरुले जलाधार क्षेत्रको व्यवस्थापनमा एउटा पक्ष सकृय भएर मात्र नहुने उल्लेख गर्दै नागरिक समाज, संरक्षणकर्मि, सरकार, सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

चुरे क्षेत्र उद्गम स्थल भएका कान्द्रा नदी र कटैनी लिक्मा नदीले कैलालीका मध्यक्षेत्रका मोहन्याल, गौरीगंगा, भजनी, कैलारी र घोडाघोडी नगरपालिकाका विभिन्न वडामा बर्षेनी कटान, डुबानकाकारण हजारौं किसानको धनजनको क्षेती पुग्ने गरेकोछ । 

जलाधार क्षेत्रलाई जिविकोपार्जन, पर्यापर्यटनसंग जोड्ने र दिगो संरक्षणमा केन्द्रित हुने उद्धेश्यले नागरिक सञ्जालको गठन गरिएको जनाइएको छ।

कान्द्रा र कटैनी उपजलाधार नागरिक सञ्जालको अयोजनामा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको मुख्य उदेश्य माथिल्लो तटिय मोहन्याल गाउँपालिका चुरे क्षेत्रमा बाढी, पहिरो, भुक्षय रोक्दै त्यहाँका मानिसलाई दिर्घकालिन आयआर्जनमा सहभागी गराई जलाधार क्षेत्रको सम्वद्र्धन गर्ने रहेको छ ।

त्यसैगरी मध्यक्षेत्र गौरीगंगा र घोडाघोडीका क्षेत्रमा पानी रिर्जव केन्द्र स्थापना गर्ने नदी प्रणाली प्रति जनताको अपनत्व विकास गराउने र प्रभावित जनसमुदायलाई लाभग्राहीमा रुपान्तरण गर्ने रहेको कार्यपत्रमा उल्लेख गरिएको छ ।

तल्लो तटिय क्षेत्र भजनी र कैलारीमा भएको क्षेतीलाई न्यूनिकरण गर्दै नदी  प्रणालीलाई आय आर्जन र जिविकोपार्जनको अवसरका रुपमा विकसित गराई प्रभावित वस्तीहरुलाई उत्पादन र पर्यापर्यटनमा विकास गराउने लक्ष्य रहेको जनाइएको छ ।

कान्द्रा उपजलाधार नागरिक सञ्जालका संयोजक लक्ष्मण चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा कटनी उपजलाधार नागरिक सञ्जालका संयोजक हरीप्रसाद तिवारीले स्वागत मन्त्व्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा पाँच वटा पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सामुदायिक वनका पदाधिकारीलगायत संरक्षणकर्मिको सहभागिता रहेको थियो ।