• ४ वैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री शाहद्वारा देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान

blog

प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गर्नुभयो।

प्रधानमन्त्री शाहले सांसदहरूलाई भन्नुभयो, "तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ।"

​प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिनुभयो। 

छलफलमा उठेका तात्कालिक विषयमा फलोअप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि 'डिजिटल माध्यम' बाट सधैं खुला रहने उहाँको भनाइ थियो।