• ४ वैशाख २०८३, शुक्रबार

विश्वका प्रभावशाली व्यक्तित्वमा नेपालका प्रम

blog

वालेन्द्र शाह (बालेन) को उदय नेतृत्व विकासमा जति लोकप्रिय युवा ऊर्जाको भूकम्प हो, त्यति नै यो दक्षिण एसियामा मौलाएको नातावाद राजनीतिको अस्वीकारोक्ति पनि । 

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ४ गते । प्रधानमन्त्री वालेन्द्र शाह विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा पर्नुभएको छ । प्रधानमन्त्री शाह विश्वप्रसिद्ध ‘टाइम’ म्यागेजिनले सार्वजनिक गरेको सन् २०२६ मा विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा पर्नुभएको हो । 

विश्वका प्रभावशाली व्यक्तिभित्र पनि राजनीतिक नेतृत्वको सूचीमा विश्वका प्रभावशाली राजनीतिज्ञसँगै शाहको नाम सूचीकृत भएको हो । विश्वकै शक्तिशाली मुलुकहरू छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, पोप लियो जस्ता शक्तिशाली नेतृत्वकर्ताको लहरमा नेपालको बहुआयामिक नेतृत्वका रूपमा वालेन्द्र सूचीकृत हुनुभएको हो । 

विश्वका प्रभावशाली व्यक्तिको सूचीमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउम, अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान, जापानका प्रधानमन्त्री साने ताकाइची र डेनमार्कका प्रधानमन्त्री म्याट्टी  फ्रेडरिकलगायत २४ जना रहनुभएको छ । 

सूचीकृत गर्दा प्रधानमन्त्री शाहका बारेमा उहाँकै ¥याप गायनको शब्दबाट उहाँलाई चिनाउन सुरु गरिएको छ; जसमा भनिएको छ, “आफ्नो इमानदारी बेच्नका लागि पैसा रुखमा फल्छ जस्तो लाग्छ ।” ३५ वर्षीय नेपाली पूर्वहिपहप स्टार वालेन्द्र शाह यसरी नै अन्याय र बेथितिका बारेमा ¥याप गर्दागर्दै प्रधानमन्त्री बन्नुभएको ‘टाइम’ म्यागेजिनले उल्लेख गरेको छ । अगाडि भनिएको छ, “जो गत फागुनमा हिमाली मुलुक नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको थियो ।” त्यो ठुलो विजय गत भदौमा भएको जेनजीले गरेको सडक आन्दोलनको जगबाट उठेको पनि औँल्याइएको छ । 

प्र्रधानमन्त्री शाहलाई सामान्यतया बालेन भनेर चिनिन्छ, जो एक सिभिल इन्जिनियर अनि ¥यापमार्फत स्टेज तताउँदै बेथितिका बारेमा बोल्नुहुन्थ्यो भनेर प्रस्ट्याइएको छ । यसले उहाँलाई चार वर्षअघि काठमाडौँको मेयर बन्न प्रेरित गरेको र अहिले नेपालका तीन करोड जनताका नेता बनाएको भनेर म्यागेजिनले उहाँको परिचय दिएको छ । बालेनको उदय नेतृत्व विकासमा जति लोकप्रिय युवा ऊर्जाको भूकम्प हो, त्यति नै यो दक्षिण एसियामा मौलाएको नातावाद राजनीतिको अस्वीकारोक्ति रहेको भनेर विश्लेषण गरिएको छ । 

उहाँले विगतमा सामाजिक सञ्जालमा गर्ने पोस्टहरू अत्यधिक हेरिने गरेको र तिनमा पनि उहाँले तत्कालीन सरकारको गतिविधिको विरोध गर्ने गरेको म्यागेजिनले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा विगतमा विरोध गरेको कुरालाई अब सरकारमा पुगेपछि आफैँले चिर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने चाहिँ हेर्न बाँकी रहेको भनेर प्रधानमन्त्री शाहको परिचय टुङ्ग्याइएको छ । 

‘टाइम’ म्यागेजिन अमेरिकाको न्युयोर्क सहरमा सन् १९२३ मा स्थापित पत्रिका हो । पछिल्लो समय बेलायतमा युरोप संस्करणसमेत विस्तारित भएको छ ।  ‘टाइम’ म्यागेजिनले विश्वमा सकारात्मक र नकारात्मक दुवै तरिकाले बलियो प्रभाव जमाउन सकेका व्यक्ति खोजी गरेर हरेक वर्ष एक सय जनाको सूची सार्वजनिक गर्दै आएको छ । सूचीले असाधारण शक्ति, महìवाकाङ्क्षा तथा परोपकार प्रदर्शन गर्ने विश्वका उच्च नेतृत्वदेखि सिर्जनाकर्तासम्मका व्यक्तिलाई मापदण्डभित्र स्थान दिने गरेको छ ।