गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ।
काठमाडौंमा बिहीबार ओखलढुंगाका स्थानीय प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो।
सांसद पोखरेलका अनुसार जिल्लावासीले सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युतीकरणका समस्यालाई प्रमुखताका साथ उठाउँदै आएका छन्। ती समस्या सम्बोधन गर्न स्थानीय तहका योजनाहरू संकलन गरी 'योजना बैंक' मा दर्ता गर्ने र बजेटका लागि सम्बन्धित मन्त्रालयमा पहल गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रादेशिक अस्पतालको भवनको मूल खाका ।
टोक्सेल प्रादेशिक अस्पताल: नागरिकको आक्रोश र आशा
मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७, टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि स्थानीय २८ परिवारले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। प्रारम्भिक चरणमा ४५ लाख रुपियाँ खर्च गरेपछि प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माण कार्य ठप्प भएको छ। अठ्ठाइस घर परिवारले एक रोपनीदेखि ३५ रोपनीसम्म जग्गा निःशुल्क दिएका थिए ।
यसै विषयलाई लिएर असन्तुष्ट स्थानीयले २०८२ फागुन २१ को निर्वाचनमा सातसल्ले मतदान केन्द्रमा मतदानसमेत बहिष्कार गरेका थिए।
सोही सन्दर्भमा सांसद पोखरेलले भन्नुभयो "अस्पताल निर्माणका लागि नागरिकले जग्गा दान गर्नुभयो, डिपिआर तयार भयो, तर काम अघि बढेन । नागरिकको माग जायज छ। उहाँहरूले दबाबस्वरुप मतदान बहिष्कार गर्नुभएको अवस्थालाई हृदयंगम गर्दै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु।"
क्षेत्रीय स्वास्थ्यको केन्द्र बन्ने विश्वास
सांसद पोखरेलले यो अस्पताल निर्माण भएमा ओखलढुंगाका साथै सोलुखुम्बु, खोटाङ, रामेछाप,उदयपुर र सिन्धुलीका नागरिकले समेत सहज स्वास्थ्य सेवा पाउने उल्लेख गर्नुभयो। उहाँले बजेट व्यवस्थापनका लागि अर्थ र स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो।
"मैले प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा पनि यो प्रादेशिक अस्पतालसहित जिल्लाका अन्य महत्वपूर्ण योजनाका विषयमा कुरा राखेको छु," सांसद पोखरेलले थप्नुभयो, "स्थानीयको अडान र आवश्यकतालाई सरकारले उच्च प्राथमिकतामा राख्नेमा म विश्वस्त छु।"

स्थानीयको सक्रियता
अस्पताल निर्माणका लागि अभियान सञ्चालन गर्दै आउनुभएका अर्जुनकुमार गौतम, अर्जुन गौतम (विर्ता) र गोरखापत्रका कार्यकारी सम्पादक नारद गौतमलगायतको टोलीले बिहीबार काठमाडौंमा सांसद पोखरेललाई भेटेर ध्यानाकर्षण गराएको थियो। भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओखलढुंगा जिल्ला सभापति कृष्ण थापा, रास्वपाका स्थानीय नेता मदन गौतम, सांसद पोखरेलका स्वकीय सचिव भानु दाहालको समेत उपस्थिति थियो।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका पोखरेलले नेपाली कांग्रेसका कुमार लुइँटेललाई ५ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो।