गोविन्द शर्मा
बाँके, बैशाख ३ गते । बाँकेको खजुरा गाउँपालिका वडा ४ डि गाउँमा सोमबारदेखि सुरु भएको एम्टी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ।
अन्तिम खेलमा बिहीवार नाइजेरियन जोन क्लवले एपिएफलाई शुन्यका विरुद्ध ३ गोलको अन्तरले पराजित गरेपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो। प्रतियोगितामा जोन क्लव नाइजेरियासहित गोरखा ब्वाइज स्पोर्टस क्लव बुटवल, फोर ब्रदर्श एफसी नवलपरासी र जेभिएम फुटबल एकेडेमी लखनउ सेमिफाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा गोरखा ब्वाइज स्पोर्टसले संकटा क्लवलाई शुन्यका बिरुद्ध १ गोल, दोस्रो खेलमा फोर ब्रदर्श एफसी नवलपरासीले काक्रेबिहार क्लव सुर्खेतलाई २ का विरुद्ध ४ गोल र तेस्रो खेलमा जेभिएमले आयोजक न्यु डाँफेलाई शुन्यका विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल शुक्रबार गोरखा ब्वाइज र जेभिएमबिच हुनेछ।
यसैगरी दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाइजेरियन जोन क्लवबिच हुनेछ । प्रतियोगिताको फाइनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो।
न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, संकटा एफसी, न्यू डाँफे स्पोर्टस् क्लब, जेभिएम फूटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो ।
प्रतियोगिताको बिजेतालाई सात लाख रुपियाँ र द्वितीयलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा करिव ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ।