गजेन्द्र गुरुङ
खजुरा, वैशाख ३ गते । समाजमा व्याप्त अन्याय, विकृति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिविरुद्ध बाँकेको कोहलपुर चौराहामा सांकेतिक विरोध प्रदर्शन गर्नुभएको छ ।
बिहीबार मध्यान्हको चर्को घाममा अर्ध नग्न अवस्थामा करिब आधा घण्टासम्म उहाँले सरकारको आर्थिक नीतिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्नुभएको हो । भण्डारीले पेट्रोलियम पदार्थ, खाने तेल, चिनीलगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बन्दैगएको बताउनुभयो ।
उहाँका अनुसार मूल्य वृद्धिको विरोधस्वरूप आफूले दिउँसो घाममा बसेर सांकेतिक प्रदर्शन गर्नुभएको छ । “जनताको ढाड सेक्नेगरी मूल्य वृद्धि भइरहेको छ, त्यसैको विरोधमा मैले घाममा ढाड सेक्ने प्रदर्शन गरेको हुँ” उहाँले भन्नुभयो ।
नयाँ सरकार गठनसँगै जनतामा आशा र अपेक्षा बढे पनि सरकार व्यवहारमा प्रचारमुखी मात्र बनेको उहाँले आरोप लगाउनुभयो । प्रदर्शनको क्रममा उहाँले सरकारको आलोचना गर्दै विभिन्न व्यंग्यात्मक पम्प्लेटसमेत प्रदर्शन गर्नुभएको थियो । पम्प्लेटहरूमा “भाषण होइन, रासन राहत चाहियो”, “जनता बजारमा हाहाकार छ”, “चिनी छैन, तेल महँगो छ, जनता रुँदैछन्” जस्ता नारा लेखिएका थिए ।