• ३ वैशाख २०८३, बिहिबार

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

blog

गृहमन्त्री सुधन गुरुङ । फाइल तस्बिर

काठमाडौँ, वैशाख ३ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टीकाटिप्पणीप्रति स्पष्टीकरण दिनुभएको छ । सङ्घीय संसद् सचिवालयको परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो सम्पत्तिका बारेमा आएका समाचारको खण्डन गर्नुभएको हो ।

गृहमन्त्री गुरुङले हाल सार्वजनिक भएको विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुवाको पालाको भएको र अहिलेसम्म अंशबण्डा नभएकाले सोही अनुसार देखिन आएको स्पष्ट पार्नुभयो । उहाँले पैतृक सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न सञ्चारजगत् र सर्वसाधारणमा अनुरोध समेत गर्नुभएको छ ।

अविभाजित अवस्थामा रहेको पारिवारिक सम्पत्तिलाई नै कानुनी प्रक्रिया अनुसार विवरणमा समावेश गरिएको उल्लेख गर्दै उहाँले तथ्यहीन विषयमा विवाद नगर्न आग्रह गर्नुभयो । सार्वजनिक जवाफदेहीको पदमा रहेकाले आफू पारदर्शिताप्रति प्रतिबद्ध रहेको भन्दै गृहमन्त्रीले यस्ता विषयमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गराउनुभएको हो ।