• ३ वैशाख २०८३, बिहिबार

ग्रामीण चलचित्र महोत्सवको तयारी

blog

पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइँदै ।

जनार्जन खत्री

सर्लाही, वैशाख ३ गते । पहिलो पटक मधेश प्रदेशको सर्लाहीमा आयोजना हुन लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी सुरु गरिएको छ । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी वैशाख १५, १६ र १७ गते सर्लाहीको चन्द्रनगर गाउँपालिकामा हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवबारे जानकारी दिएको हो । 

महोत्सवमा ग्रामीण परिवेशमा बनेका सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषीका चलचित्र प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार वैशाख १५ गते स्थानीय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुतिसहित तीन दिनको कार्यक्रममा चलचित्र प्रदर्शनी, चलचित्र क्षेत्रका विज्ञसँग अन्तरक्रिया र उत्कृष्ट चलचित्रलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको बताउनुभयो । 

गोरखा, काभ्रे, रामेछाप र रसुवापछि अब पाँचौँ संस्करणको चलचित्र महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । मधेश प्रदेशमा भोजपुरी र मधेशी चलचित्र बढी रुचाउने दर्शकलाई अब नेपाली चलचित्रतर्फ पनि आकर्षित गर्ने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष सापकोटाले बताउनुभयो । 

यहाँ चलचित्र महोत्सव गरेपछि मधेशको पर्यटन प्रवर्धन र चलचित्रको छायाङ्कन गर्ने थलोसमेत बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र महोत्सवमार्फत गाउँपालिकाको सम्पदाको रूपमा रहेको नाढीमन तालको प्रचारप्रसार र प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेशकै ठुलो प्राकृतिक र ऐतिहासिक नाढीमन तालमा देशभरका चलचित्रकर्मी ल्याएर चलचित्र महोत्सव गर्न पाउँदा खुसी लागेको महतोले पत्रकार सम्मेलनमा बताउनुभयो ।