ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ५ कुवापानीका मगर समुदाय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् । यहाँका पाका र युवा पुस्ता पुर्ख्याैली नाचको संरक्षण र पुस्तान्तरणमा सक्रिय भएका हुन् । मगर समुदायमा पुख्र्यौली नाचलाई मौलिक संस्कृतिका रुपमा लिने गरिन्छ ।
पुर्ख्याैली नाच संरक्षण समूह बनाएर उनीहरुले नयाँ पुस्तालाई नाच सिकाउने गरेका छन् । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा पाका,युवा र बालकलाकारहरुले सँगै पुख्र्यौली नाच प्रदर्शन गर्ने गरेको कुवापानी टोल विकास समितिका अध्यक्ष तिर्खबहादुर पाइजाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘आधुनिक संस्कृतिले गर्दा हाम्रो पुर्ख्याैली मौलिक कला संस्कृति नै लोप भएर जाने थालेपछि गाउँमा समुह बनाएर सिप हस्तान्तरणको प्रयास गरेका छौं । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा आएका पाहुनाहरुको स्वागतका लागि पाका,युवा र बालकलाकार सँगै भएर पुख्र्यौली नाच देखाउने गरेका छौं ।’’ पुर्ख्याैली नाचमा सँगै बालकलाकारहरुलाई पनि सहभागी गराउँदा उनीहरुले संस्कृतिका बारेमा बुझ्ने र सिक्ने मौका पाउने उहाँको भनाइ छ ।
हालै मात्र स्थानीय गिद्देश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटनका अवसरमा बालकलाकार समेतको सहभागितामा पुख्र्यौली नाच प्रदर्शन गरिएको थियो । नाचमा अधिकांश युवा र बालकलाकारहरुले सहभागिता जनाएका थिए ।
मगर समुदायको पुख्र्यौली नाच,मौलिक सस्कृति र परम्पराको संरक्षण गरी पर्यटन प्रवद्र्धनका लागि वडाले सहयोग गर्ने गरेको जलजला गाउँपालिका ५ का वडाध्यक्ष तिलक जिसीले बताउनुभयो । जलजला गाउँपालिकाले मगर समुदायमा रहेका विद्यालयहरुमा पुख्र्यौली नाच र संस्कृतिका बारेमा पढाउन समेत थालेको छ ।