• ३ वैशाख २०८३, बिहिबार

खेलाडी अभाव टार्न १६ वर्ष मुनिकालाई प्रशिक्षण

blog

हेटौँडा उपमहानगरपालिका २ को वडा कार्यालयको आयोजनामा सुरु गरिएको फुटबल प्रशिक्षण ।

राममणि दाहाल

मकवानपुर, वैशाख ३ गते । हेटौँडामा फुटबल खेलाडीको अभावमा हुन थालेपछि वडा कार्यालयले तत्परता देखाउँदै प्रशिक्षण सुरु गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा २ को कार्यालयले १६ वर्ष मुनिकालाई लक्षित गरी तीन महिने प्रशिक्षण सुरु गरेको हो । 

प्रशिक्षणमा वडाभित्र बसोबास गर्नेसँगै वडाभित्र सञ्चालनमा रहेका एक सामुदायिक र दुई वटा संस्थागत गरी तीन वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेटौँडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयको खेल मैदानमा ३५ देखि ४० जनासम्म विद्यार्थी सहभागी हुने गरी प्रशिक्षण सुरु गरिएको छ ।

पछिल्लो समय नगर र जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन फुटबल खेलाडीको अभाव हुँदै गएपछि वडा कार्यालयले विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने निर्णयसहित प्रशिक्षण सुरु गरेको हो । 

प्रशिक्षणका लागि बालबालिका सार्वजनिक रुपमा आव्हान गरेपनि छात्रको मात्र सहभागिता रहेको वडा सदस्य सुरज बर्तौलाले बताउनुभयो । 

प्रशिक्षणका लागि प्रशिक्षकको प्रारिश्रमिक, खेल सामाग्रीलगायतका दुई लाख रुपियाँ खर्च गर्ने योजना वडा कार्यालयले बनाएको छ । फुटबल प्रशिक्षणमा प्रशिक्षक विजयलाल श्रेष्ठसहित तीन जनाले तालिम दिनु हुनेभएको छ ।