• ४ वैशाख २०८३, शुक्रबार

कार्यभार दण्डहीनता अन्त्य

blog

भारी राजनीतिक उलटफेरपछि पूर्ण बहुमतसहित गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आमजनतामा एउटा साझा अपेक्षा देखिएको छ, ‘केही गरोस् ।’ यो अपेक्षा केवल सामान्य आशा होइन; यो नेपाली जनताको लामो राजनीतिक अनुभव, निराशा, सङ्घर्ष र परिवर्तनको चाहनाबाट जन्मिएको सामूहिक भावना हो । ‘केही गरोस्’ भन्ने वाक्यांशको अर्थ सतही रूपमा बुझ्न मिल्दैन । यसभित्र जनताको गहिरो पीडा, आकाङ्क्षा र स्पष्ट सन्देश समेटिएका छन्; जसलाई सूक्ष्म रूपमा विश्लेषण गर्नु आवश्यक छ ।

सत्तारूढ दलभित्रको आन्तरिक द्वन्द्व नेपालमा सरकार असफल हुने प्रमुख कारणमध्ये एक रहँदै आएको छ । व्यक्तिगत अहङ्कार, शक्तिसङ्घर्ष र इगो टकरावले सरकारलाई कमजोर बनाउने गर्छ । जनताको अपेक्षा छ– यस पटक यस्तो नहोस् । पार्टीभित्रको एकता कायम राख्दै साझा उद्देश्यतर्फ केन्द्रित हुन सकियो भने मात्र सरकार स्थिर र प्रभावकारी बन्न सक्छ । एकता केवल औपचारिक नभई विचार, कार्यशैली र लक्ष्यमा पनि देखिनु आवश्यक छ ।

जनताले ‘केही गरोस्’ भन्नुको पहिलो अर्थ हो– पुरानो शैलीको शासनव्यवस्थाबाट पूर्ण रूपमा अलग पहिचान स्थापित होस् । विगतका राजनीतिक अस्थिरता, भ्रष्टाचार, दलगत स्वार्थ र जनहितविपरीतका निर्णयको निरन्तरताबाट जनता आजित भइसकेका छन् । यो सरकारबाट अपेक्षा गरिएको परिवर्तन केवल अनुहारको होइन, व्यवहार र परिणामको परिवर्तन हो । जनताले अब व्यवहारमा देखिने नतिजा चाहेका छन् । यसको अर्थ शासनको हरेक तहमा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमता स्थापित हुनु हो । 

नयाँ युग निर्माण

नेपाली जनताले राणा शासन, पञ्चायती व्यवस्था, माओवादी सशस्त्र द्वन्द्व र राजतन्त्र पुनस्र्थापनाको प्रयास जस्ता कठिन कालखण्ड भोगेका छन् । यी सबै अनुभवले जनतामा एउटा स्पष्ट चाहना जन्माएको छ– अब स्थिरता, शान्ति र सुशासनको युग सुरु होस् । लोकतन्त्र स्थापना भएको करिब तीन दशकभन्दा बढी बितिसक्दा पनि जनताले अपेक्षित सेवा र विकास पाउन सकेका छैनन् । अबको शासनले लोकतन्त्रको वास्तविक अर्थ– जनताको जीवनस्तरमा सुधार– लाई व्यवहारमा उतार्नु पर्छ ।

नेपालको राजनीतिक इतिहासमा धेरै पटक देखिएको विषय हो– सत्ता सञ्चालनमा स्वार्थ समूह, दबाब समूह र अदृश्य शक्तिको प्रभाव । यी समूहले नीतिनिर्माणदेखि निर्णय कार्यान्वयनसम्म प्रभाव पार्ने गरेका छन् । जनअपेक्षा छ– वालेन्द्र सरकार यस्तो प्रभावबाट पूर्ण रूपमा मुक्त रहोस् । सरकार कुनै सीमित स्वार्थ समूहको प्रभावमा पर्छ भने जनादेशको मूल मर्म नै समाप्त हुन्छ । नीतिगत निर्णय जनहितमा आधारित हुनु पर्छ; न कि कुनै व्यापारी, माफिया वा विदेशी प्रभावका आधारमा ।

भ्रष्टाचारविरुद्ध कठोर सरकार

जनताको प्रगाढ अपेक्षामा ‘यो सरकारले भ्रष्टाचार न्यूनीकरण गर्छ’ भन्ने पनि छ । भ्रष्टाचार नेपाली समाजको सबैभन्दा गम्भीर समस्यामध्ये एक हो । जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसको असर भोगिरहेका छन् । यो सरकारबाट सबैभन्दा ठुलो अपेक्षा भ्रष्टाचार नियन्त्रण नै हो । भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र भविष्यमा यस्तो गतिविधि दोहोरिन नदिने प्रणाली निर्माण आवश्यक छ । ‘ठुला माछा’ जोगिने र ‘सानालाई मात्र कारबाही’ गर्ने प्रवृत्ति अन्त्य हुनु पर्छ । दण्डहीनताको संस्कार अन्त्य नगरी सुशासन सम्भव हुँदैन । नेपालमा व्यापार र उद्योग क्षेत्रमा दलालीकरण र माफियाकरणले गहिरो रूपमा जरा गाडेको छ । निजी क्षेको नाममा यस्तै प्रवृत्तिको हालीमुहाली देखिन्छ । यसले इमानदार उद्यमीलाई निरुत्साहित गरेको मात्रै छैन, अर्थतन्त्रसमेत कमजोर बनाएको छ । जनअपेक्षा छ– सरकारले यस्तो प्रवृत्ति अन्त्य गरोस् । पारदर्शी नीति, समान प्रतिस्पर्धा र लगानीमैत्री वातावरण सिर्जना गरियो भने मात्र आर्थिक विकास सम्भव हुन्छ । विदेशी लगानी आकर्षित गर्न पनि विश्वासिलो वातावरण आवश्यक छ ।

शुद्ध नीति र नियत

‘केही गरोस्’ भन्नुको अर्को महत्वपूर्ण अर्थ हो– मानवकेन्द्रित शासन । नीति र नियत दुवै शुद्ध हुनु पर्छ । जात, धर्म, वर्ग वा क्षेत्रका आधारमा विभेद नगरी समान अवसर र न्याय सुनिश्चित गरिनु पर्छ । मानवकेन्द्रित शासन भन्नाले केवल नीतिगत भाषामा ‘मानव अधिकार’, ‘समावेशिता’ जस्ता शब्द राख्नु मात्र होइन; ती मूल्यलाई राज्य सञ्चालनका हरेक तहमा व्यवहारमा उतार्नु हो । राज्यको केन्द्रमा व्यक्ति, उसको गरिमा, अधिकार, अवसर र सुरक्षालाई राख्ने सोच नै यसको मूल आधार हो ।

यसको अर्थ राज्यले आफ्ना नागरिकलाई केवल कर तिर्ने वा मत दिने माध्यमका रूपमा होइन, विकास साझेदारका रूपमा हेर्नु हो । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा जस्ता आधारभूत सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य हुनु पर्छ । दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय, महिला, दलित, जनजाति वा आर्थिक रूपमा कमजोर वर्गले राज्यबाट समान व्यवहार र अवसर पाएको अनुभूति गर्न सकेनन् भने ‘मानवकेन्द्रित शासन’ केवल नारामा सीमित रहन्छ । विगतमा धेरै पटक राम्रा नीति बने पनि कार्यान्वयन तहमा पुगेपछि स्वार्थ, भ्रष्टाचार वा लापर्बाहीका कारण ती असफल भएका उदाहरण छन् । अबको आवश्यकता ‘नीति राम्रो छ’ भन्नेभन्दा पनि ‘नीति इमानदारीपूर्वक लागु भयो कि भएन ?’ भन्नेमा केन्द्रित हुनु हो । सुशासनका सन्दर्भमा नीतिले निर्दिष्ट गरेका उद्देश्य सोही रूपमा व्यवहारमा रूपान्तरित हुनु हो । यो भनेको केवल नियम, कानुन र नीतिहरू बनाउने प्रव्रिmया मात्र होइन; तिनीहरूको निष्पक्ष, पारदर्शी र प्रभावकारी कार्यान्वयन पनि हो ।

प्रभावकारी कर्मचारीतन्त्र

जनआन्दोलनपछिको चुनावले सत्ताको बागडोर फेरिए पनि स्थायी सरकार भनिने प्रशासनिक संयन्त्र उही छ । सरकारमा पुरातनवादी ढर्राका नेताहरूको हालीमुहाली हुँदा त्यस अनुरूप बढेको प्रशासनिक संयन्त्र रूपान्तरणका लागि तयार छैन भन्ने होइन । कर्मचारीतन्त्रभित्र केही प्रतिशत भने पुराना राजनीतिक र बिचौलिया सिन्डिकेटको हिस्सा भएर समस्या होलान् सायद तर नयाँ ढङ्गले र कार्यसम्पादन दुरुस्त बनाएर अघि बढ्ने खालका कर्मचारीको बाहुल्य नै छ । यो भनेको सरकारका लागि अवसर हो ।

प्रशासनिक संयन्त्र सक्षम बनाउनु आवश्यक छ । सक्षम प्रशासन भन्नाले दक्ष, पेसागत र जिम्मेवार कर्मचारीतन्त्र हो; जसले राजनीतिक दबाबभन्दा माथि उठेर काम गर्न सक्छ । कर्मचारीतन्त्रमा योग्यताका आधारमा नियुक्ति, नियमित तालिम र कार्यसम्पादन मूल्याङ्कनको स्पष्ट प्रणाली आवश्यक हुन्छ ।

सुशासन भनेको केवल नियम बनाउनु होइन, ती नियम निष्पक्ष रूपमा लागु गर्नु हो । प्रशासनिक संयन्त्रलाई सक्षम, पारदर्शी र उत्तरदायी बनाउनु अनिवार्य छ । एउटा यस्तो प्रशासनिक व्यवस्थाको खाँचो छ; जसले असल अभ्यासलाई कहिल्यै पनि निरुत्साहित गर्दैन । यद्यपि यो कार्य त्यति सजिलो छैन । असजिलो भएर नै यस कामका लागि जनताले यस पटक वालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि असामान्य बहुमत पनि दिएका छन् ।

वाचा कार्यान्वयन र पारदर्शिता

चुनावको समयमा गरिएका वाचा केवल मत तान्ने साधन होइनन्; ती जनतासँग गरिएको प्रतिज्ञा हुन् । वाचा पूरा गर्नु सरकारको नैतिक र राजनीतिक दायित्व हो । वाचा र व्यवहारबिच ठुलो अन्तर रह्यो भने जनतामा निराशा बढ्छ । लोकतन्त्रप्रतिको विश्वास कमजोर हुन्छ । प्राथमिकताका आधारमा वाचा कार्यान्वयन गर्नु पर्छ । नेपालमा सरकार परिवर्तनको चव्रm तीव्र छ । यसले विकासका योजना अधुरा रहने, नीतिले स्थायित्व नपाउने र प्रशासनिक अन्योल उत्पन्न गराउँछ । जनअपेक्षा छ– वालेन्द्र नेतृत्वको सरकारले आफ्नो पूरा कार्यकाल सफलतापूर्वक पूरा गरोस् । यसका लागि पार्टीभित्रको एकता, स्पष्ट नेतृत्व र जनसमर्थन कायम राख्नु अनिवार्य छ । 

पारदर्शिता सुशासनको अर्को महत्वपूर्ण आधार हो । सरकारी निर्णय, खर्च र कार्यक्रमको जानकारी जनतासम्म खुला रूपमा पुग्नु पर्छ । सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउन सकिन्छ । यसले भ्रष्टाचार घटाउन मात्र होइन, जनताको विश्वास पनि बढाउँछ । उत्तरदायित्व पनि उतिकै महत्वपूर्ण पक्ष हो । राज्यका हरेक निकाय र पदाधिकारीले आफ्नो कामका लागि जवाफ दिनुपर्ने व्यवस्था हुनु पर्छ । कुनै निर्णय गलत भयो वा जनहितविपरीत भयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट हुनु पर्छ । 

भूराजनीतिक सन्तुलन र स्वतन्त्र निर्णय

नेपाललाई २४ नोभेम्बर २०२६ सम्ममा अतिकम विकसित देशको दर्जाबाट विकासशील देशमा स्तरोन्नति गर्ने तालिका छ । यसले नेपालको विश्वव्यापी छवि उकास्ने लक्ष्य राखेको छ । योसँगै अन्तर्राष्ट्रिय समर्थन, सम्भावित व्यापार प्रभाव र आर्थिक जोखिम नयाँ ढङ्गले अघि बढ्ने छन् । यसलाई व्यवस्थापन गर्न सहज र सङक्रमणकालीन रणनीति आवश्यक पर्छ । नेपाल जस्तो संवेदनशील देशका लागि भूराजनीतिक सन्तुलन संवेदनशील विषय हो । छिमेकी राष्ट्र र विश्व शक्तिको प्रभाव सधैँ रहने भएकाले सरकारले अत्यन्त सावधानीपूर्वक निर्णय लिनुपर्ने हुन्छ । सरकारले कुनै बाह्य दबाबमा नपरी राष्ट्रिय हितलाई प्राथमिकता दिँदै स्वतन्त्र निर्णय गर्न सकोस् । सन्तुलित कूटनीति र स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक छ ।

‘वालेन्द्र सरकारले केही गरोस्’ भन्ने जनभावना र यी अपेक्षा बुझेर इमानदारीपूर्वक काम गर्न सरकार सफल हुन्छ भने यसले केवल आफ्नो कार्यकाल सफल बनाउने मात्र होइन; नेपालको राजनीतिक संस्कृतिमा नयाँ अध्याय पनि सुरु गर्न सक्छ । यो अवसर गुमाइयो भने जनताको निराशा अझ गहिरो बन्ने छ र भविष्यका लागि चुनौती झन् जटिल हुने छन् । अबको मुख्य प्रश्न ‘सरकारले केही गर्छ कि गर्दैन ?’ मात्र होइन, ‘कस्तो गर्छ ? कसरी गर्छ ? र कसका लागि गर्छ ?’ भन्ने हो । यही प्रश्नको उत्तरमै सरकारको वास्तविक सफलता वा विफलता निहित हुने छ ।