• ४ वैशाख २०८३, शुक्रबार

लोक दोहोरी परम्परालाई संरक्षणका लागि प्रतियोगिता

blog

शंकर केसी
सल्यान, वैशाख ४ गते ।
जिल्लाको मौलिक कला र संस्कृतिको जगेर्ना तथा प्रवर्धन  गर्ने उद्देश्यले सल्यानमा लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेभएको छ । यही वैशाख ६ देखि १० गतेसम्म सल्यान श्रीनगरस्थित आधुनिक बसपार्कमा सल्यान जिल्लास्तरीय अन्तरपालिका लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेभएको हो ।

शारदा नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सल्यान शाखाको सहजीकरण एवं व्यवस्थापनमा हुने प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यसैगरी द्वितीय र तृतीय हुने समूहले क्रमशः ४० हजार र ३० हजार रुपियाँ प्राप्त गर्नेछन् । सान्त्वना स्थान हासिल गर्ने समूहलाई २० हजार तथा व्यक्तिगततर्फ उत्कृष्ट महिला र पुरुष कलाकारलाई जनही दुई हजार पाँच सय रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाभित्रका सबै स्थानीय तहबाट सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । प्रत्येक पालिकाबाट बढीमा दुई समूहले मात्र सहभागिता जनाउन पाउने छन् भने प्रत्येक समूहमा अनिवार्य रूपमा एक जना महिला र एक जना पुरुष कलाकार समावेश हुनुपर्नेछ । यद्यपि लोक दोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यावसायिक कलाकारहरूलाई प्रतियोगीका रूपमा सहभागी नगराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताले लोक दोहोरी परम्परालाई संरक्षण गर्न टेवा पुग्ने, नयाँ प्रतिभा पहिचान गर्ने तथा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । यसअघि वैशाख १ गतेका लागि तय भएको प्रतियोगिता ६ गतेदेखि सुरु हुनेगरी मिति परिवर्तन गरिएको हो ।